उद्योगमन्त्रीका ३० दिन : दैलेखमा पेट्रोलियम अन्वेषणदेखि रसुवाको सुख्खा बन्दरगाह सम्झौतासम्म – Nepal Press

उद्योगमन्त्रीका ३० दिन : दैलेखमा पेट्रोलियम अन्वेषणदेखि रसुवाको सुख्खा बन्दरगाह सम्झौतासम्म

काठमाडौँ । माघ ३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका दामोदर भण्डारीले एक महिना गरेका कामको विवरण सार्वजनिक गरेका छन् । बैतडीबाट सांसद निर्वाचित उनले बढ्दो व्यापार घाटा न्यूनीकरण, पेट्रोलियम पदार्थको सहज आपूर्ति, खाद्यान्न आपूर्तिको सहजता लगायतका विषयमा गम्भीर भएर लागेका भण्डारीले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

‘यसअघिका मन्त्रीहरूले सुरूवात गरेका राम्रा कामलाई निरन्तरता दिँदै मैले यो अवधिमा एक दर्जनभन्दा बढी महत्वपूर्ण कार्य सुरू गरेको छु’, उनले भने ।

मन्त्रालयबाट पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएकोमा मन्त्रिपरिषदबाट समेत दैलेखमा ४५ रोपनी जग्गा प्राप्तिको निर्णय पारित भएको छ । पेट्रोलियम विधेयकको मस्यौदामा अर्थमन्त्रालय र कानून मन्त्रालयको सहमतिको लागि अगाडि बढाइएको छ ।

१३ माघमा कञ्चनपुरमा रहेको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएकोमा मन्त्री भण्डारीले भारतीय राजदूत नवीन श्रीवास्तवसँग दुई पक्षीय सहमतिका लागि छलफल गरेका छन् । यतिमात्रै होइन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री भण्डारी सम्बन्धित क्षेत्रमा पुगेर ३ वर्षभित्र बन्दरगाहको काम सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् ।

कोरोना महामारीका कारण निर्माण रोकिएको रसुवा पुगेर टिमुरे सुख्खा बन्दरगाहका लागि पुनः निर्माण सम्झौता भएको छ ।

जौवादी फलाम उद्योग लगायत अन्य ३ वटा सिमेन्ट उद्योग सम्म पुग्ने पहुँच मार्गको लागि ९करोड ६७ लाख रकमान्तर गरी निकासा गरिएको साथै २० वटा औद्यौगिक ग्रामका लागि थप रकम निकासा भएको सचिवालयले जनाएको छ ।

भारतबाट पैठारी हुने गहुँ र चिनीको निर्यात सम्बन्धी कार्य अघि बढाइएकोमा नेपालका २५ कम्पनीहरूलाई १०हजार ६सय ३६मेट्रिक टन चिनी आयात गर्न पहल भएको छ । जस अन्तरगत आन्तरिक वितरणको व्यवस्था गर्ने गरी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई सहमति दिइएको मन्त्री भण्डारीले बताए ।

भण्डारी समेतको पहलमा धनगढीको गेटामा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालयको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मन्त्रीमण्डलबाटै नामाकरण भई कार्यान्वयन प्रक्रियामा जाने भएको छ ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा प्रयोग हुने वस्तुहरूमा स्वदेशी वस्तुहरूको प्रयोग बढाउन निर्देशन जारी गरेको छ ।

सार्वजनिक निकायले मालसामान वा वस्तु उत्पादन गर्ने स्वदेशी उत्पादक एवं नेपाली वस्तुहरू आपूर्ति गर्ने आपूर्तिकर्ताको रोष्टर तयार गरी स्वदेशी उत्पादन नै खरिद गर्ने व्यवस्था मिलाउने आदेश दिइएको छ ।

सार्वजनिक निकायको उपयोगका लागि स्टेसनरी, फर्निचर, मेसिन, औजार जस्ता माल समान खरिद गर्दा उपलब्ध भएसम्म नेपाली मालसमान नै खरिद गर्नुपर्ने सो नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी माल समान खरिद गर्न टिप्पणी आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर