प्रचण्डलाई रुकुमपूर्वका बागी उम्मेदवारको पत्र- मेरो नाममा कांग्रेससँग लाखौँको बार्गेनिङ भयो, छानबिन होस् – Nepal Press

प्रचण्डलाई रुकुमपूर्वका बागी उम्मेदवारको पत्र- मेरो नाममा कांग्रेससँग लाखौँको बार्गेनिङ भयो, छानबिन होस्

काठमाडौं । मंसिर ४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रुकुम पूर्वको प्रदेशसभा २ मा बागी उम्मेदवारी दिएका केशव रावलले पार्टी जिल्ला इन्चार्ज तेजबहादुर वली ‘प्रतीक’को सहमतिमा उम्मेदवारी दिएको खुलाएका छन्।

उनले आफूलाई जिल्ला इन्चार्ज वलीले आफूलाई उम्मेदवारी बनाएर आर्थिक बार्गेनिङ गरेको आरोप लगाएका छन्।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै भनेका छन्, ‘मैले म मेरो व्यक्तिगत चाहानाले नभई जिल्ला इन्चार्ज कमरेड तेज बहादुर वली ‘प्रतीक’ कमरेडको निर्देशनमा उम्मेदवारी दिएको अवगत गराउन चाहन्छु । पार्टी केन्द्रको निर्णय विपरीत गएर उम्मेदवारी नदिने र तर इन्चार्ज कमरेड प्रतीकको निर्देशनले उम्मेदवारी दिनुपर्दा फिर्ता नलिने सर्त/समझदारीमा उम्मेदवारी दिएको हुँ।’

उनले कार्तिक २५ गते साँझसम्म पार्टीले सहयोग गर्ने र निर्वाचनमा जाने आश्वासन दिइरहेपनि २६ गते उम्मेदवारी फिर्ता लिनु भनेपछि आफूले नलिएको उल्लेख गरेका छन्।

उनले पत्रमा भनेका छन्, ‘उम्मेदवारी फिर्ता नलिने सर्तमा दिएको उम्मेदवारी किन फिर्ता लिन भन्नु भएको भन्ने कुरा पछिल्ला दिनमा खुल्यो कि उहाँले मेरो उम्मेदवारी फिर्ता गराए बापत कांग्रेसका उम्मेदवारबाट आर्थिक सहयोग प्राप्त गर्ने गरी डिल भएको रहेछ, उम्मेदवारी फिर्ता लिएमा मलाई पनि ५० औँ लाखको आर्थिक लोभ देखाइएको थियो।’

उनले आफ्नो इमानलाई पैसासँग साट्न नचाहेको र उम्मेदवारी फिर्ता लिँदा पैसा लेनदेन गरी फिर्ता लिएको भ्रम पैदा हुने र पार्टी राजनैतिक जीवनमा धक्का लाग्ने अवस्था आउने आँकलन गरेर उम्मेदवारी फिर्ता लिन नसकेको उल्लेख गरेका छन्।

‘उम्मेदवारी दर्ता गर्न लगाउनुको कारण के थियो, अर्को उम्मेदवारसँग आर्थिक डिल गरेर फिर्ता गर भन्न हुने हो यो विषयमा इन्चार्ज क। प्रतीक को धारणा के हो ? नियत के थियो ? इन्चार्जकै निर्देशनमा उम्मेदवारी दिएपछि फिर्ता किन लिनुपर्थ्यो ? इन्चार्ज कमरेड प्रतीक कै निर्देशनमा क। कैलाशलाई संघमा उम्मेदवारी दिन लगाएको थियो तर कमरेड कैलाशले प्रदेशमा उम्मेदवारी दिनु भयो र फिर्ता लिनुभयो किन र कसरी ? नरहरि खड्काको घोडा चुनाव चिन्हको प्रचार गर्ने सिस्नेको पालिका अध्यक्ष मन्सराम खड्का भिक्टरलाई किन कारबाही गर्नुभएन ? प्रदेश सदस्य धनमान पुनले घोडा चिन्हमा भोट माग्दा किन मौन ?’ उनले प्रश्न गरेका छन्।

उनले आवश्यक पर्दा माग भएमा सम्बन्धित निकायमा तथ्य प्रमाण सबै पेश गर्न सक्ने जिकिर गरे।

उनले भनेका छन्, ‘यी सबै तथ्य र आधारबाट हेर्दा म कारबाहीमा रहनुपर्ने होइन भन्ने मेरो दाबी छ। यद्यपि, म पार्टीको जति लामो जति कडा कारबाही भोग्न सहन तयार छु । तर, मैले कारबाही भोग्नुपर्दा मलाई उम्मेदवारी दिन निर्देशन गर्ने इन्चार्ज कमरेडलाई समेत कारबाही हुनुपर्ने होइन र रु मैले त पार्टी इन्चार्जको निर्देशनको पालना गरेर उम्मेदवारी दिए तर उहाँको गलत मनसाय बुझेर दोस्रो फिर्ताको निर्णय मान्न सकिन । गलत निर्णय नमान्नु सही होइन र ?’

उनले आफू दोषी नभएको उल्लेख गर्दै आफूलाई सहयोग गर्दा पार्टीले कारबाही गरेकाहरूको कारबाही खारेजी गर्न माग समेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर