माओवादी सचिव देवेन्द्र पौडेललाई प्रश्न- राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको हो ? – Nepal Press

माओवादी सचिव देवेन्द्र पौडेललाई प्रश्न- राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको हो ?

काठमाडौं । सत्ता गठबन्धनमा राष्ट्रपति एमालेलाई दिने सहमति कार्यान्वयन नहुने संकेत देखिएको छ । पुस १० गते प्रधानमन्त्री माओवादीलाई र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति भएको थियो ।

कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै माओवादीले अहिले राष्ट्रिय सहमतिको अडान लिएको छ । तर, माओवादीको अडानप्रति एमाले सकारात्मक छैनन् ।

माओवादीलाई पाँच दलीय गठबन्धन ब्युँताउने संकल्प गरेको कांग्रेससहित नेकपा एकीकृत समाजवादी, जसपालगायतका दलहरुले राष्ट्रिय सहमतिको अडानमा साथ दिएका छन् । त्यसैले सत्ता गठबन्धनमा अविश्वास बढ्दै गइरहेको छ ।

सत्ता गठबन्धनभित्र देखिएको विवादलाई लिएर मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता समीकरण फेरिने संकेत गरेका थिए ।

राष्ट्रिय सहमतिको अडान नछाडेको माओवादीले फागुन १३ गते राष्ट्रपति निर्वाचनको मनोनयनअघि आधिकारिक निर्णय गर्ने सचिव देवेन्द्र पौडेलले बताए ।

माओवादीले राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘हामी अहिलेसम्म राष्ट्रिय सहमतिको पक्षमै छौं । कुनै ठोस निर्णय गरेका छैनौं । विभिन्न विकल्पबारे छलफलमा छौं । त्यसबारेमा मनोनयनअघि पार्टी पदाधिकारी बैठक बसेर ठोस निर्णय गर्छौं ।’

राष्ट्रपतिको विषयलाई लिएर गठबन्धनमा माओवादीले एमालेलाई अड्को थापिरहेको बेलामा कांग्रेस नेता प्रदीप पौडेलले आफूहरुले ढोक्सा थापेको स्वीकार गरिसकेका छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले ओलीलाई कटाक्ष गर्दै भने, ‘यहाँ रबर स्टाम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यक पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’

त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर संवादमा रहेको कांग्रेस महामन्त्री गगन थापाले पनि फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्काएरै छाड्ने उद्घोष गरेका थिए ।

प्रतिक्रिया

One thought on “माओवादी सचिव देवेन्द्र पौडेललाई प्रश्न- राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएको हो ?

  1. सरकारले हटाएको प्रधानसेनापति काँग्रेसको राष्ट्रपति रामवरणले नहटाउन दिएको आदेश चाहिँ के हो ? यो प्रदिप पौडेल भन्नेलाई लाज भन्ने अलिकति छ भने त्यो के गरेको भन्न सक्छ यसले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर