आयुर्वेद संसारकै साझा सम्पत्ति हो : राष्ट्रपति भण्डारी – Nepal Press

आयुर्वेद संसारकै साझा सम्पत्ति हो : राष्ट्रपति भण्डारी

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताएकी छन् । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण भवनको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले हाम्रो मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योग, प्रणायम, ज्ञान, प्राकृतिक चिकित्साका साथै समुदायमा पाइने शारीरिक र मानसिक एवं स्वास्थ्यसम्बन्धी लोप हुन लागेका प्राकृतिक पद्धतिलाई संरक्षण र प्रवर्द्धन गर्न विश्वविद्यायलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले कोरोना महामारीपछि विश्वमा नै प्राकृतिक जीवनशैली एवम् आयुर्वेदप्रतिको विश्वास र आकर्षणमा अझै वृद्धि भएको औंल्याइन् ।

‘संस्कृत भाषा र साहित्यमा मानिसभित्रको आन्तरिक क्षमतालाई विकसित र प्रकाशित तुल्याउने क्षमता छ, यसबाट जीवन र जगतलाई हेर्ने, विश्लेषण गर्ने, त्यसप्रतिको धारणा निर्माण गर्न रचनात्मक दृष्टिकोणको विकास हुन्छ भन्ने कुरामा विश्वस्त रहेको छु’, उनले भनिन् ।

उनले संस्कृतसँग केही व्यक्तिगत, भावनात्मक सम्बन्ध रहेको बताउँदै जननेता मदन भण्डारी स्वयं संस्कृत क्षेत्रको उत्पादन भएको स्मरण गरिन् ।

नेपाली सभ्यताबाट सृजित ज्ञानलाई अझै विकास गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न विश्वविद्यालयले ठूलो योगदान पु¥याउने उनले विश्वास व्यक्त गरिन् ।

‘प्राचीन र मध्यकालीन समाजका विविध विषयमा जानकारी दिने हजारौं गहन र दुर्लभ ग्रन्थहरु संस्कृत भाषामा लेखिएका छन् । संसारभरका अन्वेषकका लागि यी ग्रन्थहरु ज्यादै उपयोगी छन्’, राष्टपति भण्डारीले भनिन्, ‘हिन्दुमात्रै हैन बौद्ध र जैन साहित्यका प्रशस्त ग्रन्थहरु पनि संस्कृत भाषामा छन् ।’

संस्कृत भाषा र यसको साहित्यका माध्यमले हाम्रा पुर्खाहरुले अमूल्य चिन्तन, विवेक, रचनात्मक सृजना र वैचारिक प्रज्ञाको अभिवेदना रहेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर