मधेश प्रदेशसभा बैठकमा लफडा, कांग्रेसले संसद अवरुद्ध गर्दा सभामुख र सांसदबीच भनाभन (भिडिओ) – Nepal Press

मधेश प्रदेशसभा बैठकमा लफडा, कांग्रेसले संसद अवरुद्ध गर्दा सभामुख र सांसदबीच भनाभन (भिडिओ)

जनकपुरधाम । नेपाली कांग्रेसले संसदीय दलको कार्यालयमा अतिथि आउन नदिएको भन्दै मधेश प्रदेशसभा बैठक केही समय अवरुद्ध गरेको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसद कुमारकान्त झाले संसदीय दलमा आउन लागेको अतिथिलाई मर्यादा पालक लगाएर रोकेको भन्दै संसद चल्न नदिने बताए । उनले संसद चल्ने नदिने भनेलगत्तै कांंग्रेसका उपस्थित सम्पूर्ण सांसदहरु उठेका थिए ।

सभामुख रामचन्द्र मण्डलले कांग्रेस सांसद झालाई बस्न आग्रह गरे । तर कांग्रेसका सांसदहरु बस्न मानेनन् । त्यसपछि सभामुख मण्डलले अतिथि बोलाउन सकिने तर के भएको हो भन्ने विषयमा पछि छलफल गर्न सकिने बताए । तर कांग्रेस साँसदहरु संसद चल्न नदिने भनेपछि उनी आक्रमक रुपमा प्रस्तुत भए ।

सभामुख मण्डलले प्रश्न गरे, ‘तपाईको गेष्ट बम लिएर आयो भने पनि छिर्न दिने ?’ तीन घण्टादेखि डिस्टर्ब गरेको छ, उसलाई गेष्ट भन्ने कि बिजनेश गर्न आएको भन्ने ? बिजनेश गर्न आएकालाई गेष्ट भन्न सकिदैन,’ उनले थपे ।

सभामुख मण्डलले बमको कुरा गरेपछि कांग्रेसकी सांसद जीवछी यादवले प्रतिवाद गरेकी थिइन् । ‘तपाई सभामुख जस्तो गरिमामय पदमा बसेर बमको कुरा गर्ने ?’ उनले प्रश्न गरिन् ।

कांग्रेस सांसद रामसरोज यादवले पनि सभामुखले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिए । उनले जुनसुकै अतिथिलाई बोलाउन सकिने बताए । त्यसपछि सभामुख मण्डल संसद बैठक १० मिनेटका लागि स्थगित गरे ।

तर छलफल नहुँदै पुनः बैठक सुरु भयो । अहिले सांसदहरु विशेष समयमा बोल्नेक्रम जारी छ । बैठकपछि सो विषयमा छलफल गरिने सभामुख मण्डलले कांग्रेस सांसदहरुलाई आश्वासन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर