भोजपुरको तल्लो इर्खुवा हाइड्रोको सुरुङ खन्न रोकेर स्थानीयका समस्या समाधान गर्न सांसद हेमराज राईको माग (भिडिओ) – Nepal Press

भोजपुरको तल्लो इर्खुवा हाइड्रोको सुरुङ खन्न रोकेर स्थानीयका समस्या समाधान गर्न सांसद हेमराज राईको माग (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद हेमराज राईले भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा निर्माणाधीन तल्लो इर्खुवा जलविद्युत आयोजनाको सुरूङ खन्ने कार्य तत्काल रोक्न माग गरेका छन् ।

बुधबार सदनमा बोल्दै उनले सुरुङले आयोजना क्षेत्रका बस्तीमा रहेका आदिवासीको हक अधिकारसमेत वञ्चित गरेको भन्दै ध्यानाकर्षण गराए । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका भएर बग्ने इर्खुवामा दुईवटा जलविद्युत आयोजनाको काम भइरहेको छ । त्यसमध्ये तल्लो इर्खुवा आयोजना १४ दशमलब १५ मेगावाटको हो ।

‘पानीलाई बाँध बाँधेर २४११ मिटरको सुरुङ खन्ने काम भइरहेको छ । सुरुङले ओगट्ने भूक्षेत्रमा डेढ सय परिवारमध्ये तल्लो मझुवाका १५/२० घर परिवारलाई सामान्य सूचनासमेत नदिई बनाउन थालिएको छ । तल्लो मझुवाका १५/२० घर आदिवासी जनजातिभित्रका किराँत राईका मेवाहाङ भाषी राई हुन्’, सांसद राईले भने, ‘आदिवासी जनजातिलाई संविधानले चिनेको छ । निर्वाचन आयोग र नियमावलीबाहेक न भूमि ऐन, जलस्रोत ऐन, वन ऐन केहीले चिनेको छैन । संविधानले प्रदान गरेको सुसूचित गरेको अधिकारबाट वञ्चित गरिएको छ ।’

आयोजनामा नेपाली सेना राखेर अझ त्रास सिर्जना गरिएको सांसद राईको टिप्पणी छ ।

‘विस्फोटक पदार्थ प्रयोगका लागि भनेर त्यहाँ दुवैतिर सेना राखिएको छ । तर, सेनाले त्यहाँको सामाजिक मनोविज्ञान कस्तो हुन्छ ? विस्फोटका कारण घर, आँगन र पिउने पानीका लागि प्रयोग गरिएको कुवा, धारा सुकेको छ । मरुभूमिकरणको समस्या बढ्दो छ’, उनले भने ।

सुरुङ निर्माण तत्काल रोकेर आयोजनाका प्रतिनिधिसँग छलफल गराउन स्थानीय प्रशासनसमक्ष निवेदन परेको जानकारी गराउँदै सांसद राईले थपे, ‘सुरुङ खन्ने काम रोकेर आयोजनाका प्रतिनिधिसँग छलफल गरिनुपर्छ । त्यहाँ अझ थप क्षति हुन नदिन क्षतिपूर्ति र मुआब्जा के व्यवस्था गर्नुपर्ने हो निर्णयमा पुग्न जरुरी छ । विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर