‘राष्ट्रपति सत्ता वा विपक्षको पद होइन, साझा र स्वतन्त्र व्यक्ति हुनुपर्छ’ – Nepal Press
नेपाल टक

‘राष्ट्रपति सत्ता वा विपक्षको पद होइन, साझा र स्वतन्त्र व्यक्ति हुनुपर्छ’

माओवादी महासचिव देव गुरुङलाई प्रश्न- माओवादीले ‘कम्फर्टेबल’ राष्ट्रपति खोजेको हो ?

कैलाली । राष्ट्रपतिको उम्मेदवारका विषयमा देखिएको विवादले सत्तागठबन्धनकै भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

एमालेले गठबन्धनमा भएको पूर्ववत् सहमतिअनुसार आफ्ना उम्मेदवारलाई समर्थन गर्नुपर्ने बताइरहेका बेला माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाएका छन् ।

माओवादी केन्द्रभित्र सर्वमान्य व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज बढ्दै गइरहेको छ । अहिलेसम्म उम्मेदवार को भन्ने सिन नदेखिए पनि राष्ट्रपति उम्मेदवार एमालेको ‘हार्डलाइनर’ हुनसक्ने माओवादीको विश्लेषण छ । माओवादीको यही भावनाअनुरूप कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने रणनीति लिएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले कांग्रेसकै लागि राष्ट्रिय सहमति भनेको बताएका छन् ।

राष्ट्रपतिका कारण सत्ता गठबन्धन भत्किन सक्ने वा कमजोर बन्ने सक्ने विश्लेषण गरिरहेका बेला माओवादी केन्द्रका केन्द्रीय महासचिव देव गुरुङ भने त्यस्तो सम्भावना देख्दैनन् । उनी राष्ट्रपतिलाई पार्टी विशेषका रूपमा बुझ्न नहुने बताउँछन् । गुरुङसँग गरिएको कुराकानी नेपाल प्रेसको नेपाल टकमा :

– राष्ट्रपति निर्वाचनसम्म सत्तागठबन्धन भत्किने चर्चा सुरू भएको छ । तरखर सुरू भएको हो ?

राष्ट्रपति कुनै सत्ता पक्ष वा विपक्षको पद नभई साझा र स्वतन्त्र पद भएको हुँदा त्यही विषयलाई लिएर मात्र सत्ता पक्ष र विपक्षमा किचलो गर्नुपर्ने, विवाद गर्नुपर्ने आवश्यकता म देख्दिन ।
साझा कुरामा कुरा नमिले सांसदहरूले आफ्नो गोप्य मतदानको हिसाबले फाइनल गर्नुहुन्छ । यो विषयलाई लिएर सरकारको विषयमा कुरा उठाउनु पर्ने अवस्था म देख्दिन ।

– तपाईंहरूको अध्यक्ष प्रधानमन्त्री बन्दा सभामुख र राष्ट्रपति एमालेलाई दिने भद्र सहमति भएको होइन र ? अहिले किन माओवादी त्यो सहमतिबाट ब्याक हुन खोज्दैछ ?

राष्ट्रपतिलाई संविधानले कुनै पार्टी विशेषको पद भनेर सृजना गरेको छैन । संविधानभन्दा विपरीत गरेर कसैले सहमति गर्ने कुरा आउँछ ? कुनै पार्टी विशेषले त प्रस्ताव गर्ने कुरा भइहाल्यो । प्रस्ताव गर्न पाइँदैन भन्ने भएन । तर, प्रस्ताव गर्ने कुरा एउटा हो, पार्टी विशेषको बनाउने भन्ने अर्को हो । यी दुई फरक एउटैमा जोड्ने कुरा बेठीक हो ।

– एमालेभित्रै पनि सर्वमान्य व्यक्तिको खोजी गर्न माओवादीले बखेडा झिकिरहेको भन्छन् नि ?

त्यो त अब कसलाई प्रस्ताव गर्नुहुन्छ भन्ने कुरा प्रस्ताव गर्न चाहने साथीहरूले ध्यान पुर्‍याउनुपर्ने विषय हो । समर्थन गर्नेहरूले त भोट हाल्ने हो । आफूले भोट हाल्न उपयुक्त रहे भोट हाल्ने हो । भोट हाल्न उपयुक्त नलागेपछि त भोट हाल्ने कुरा भएन । जसले प्रस्ताव गर्दा पनि भोट हाल्ने उम्मेदवार तयार गर्नुपर्छ ।

– तपाईंहरू आफ्नै उम्मेदवार उठाउने योजनामा हुनुहुन्छ कि एमाले वा कांग्रसले उठाएका उम्मेदवारलाई जिताउन लाग्नुहुन्छ ?

पार्टी विशेषको उम्मेदवार भन्ने हुँदैन । साझा उम्मेदवार बन्ने कुरामा आस्थाको हिसाबले केही कतै कोही कतै हुने कुरा फरक हो । तर, पार्टी विशेष भन्ने कुरा संविधानको आधारभूत मान्यताभन्दा फरक हो । संविधानभन्दा विपरीत कुरा गर्न मिल्छ ? संविधानले राष्ट्रपतिलाई सत्ता पक्ष वा विपक्ष भनेर कुनै दल विशेष भनेर किटान गरेको छ ?

– कतै गैरदलीय व्यक्ति ल्याउने प्रयास त भइरहेको छैन ?

अहिले दलीय प्रणाली रहेको अवस्थामा राजनैतिक पृष्ठभूमिभन्दा बाहिर सोचेर मुलुकको समस्या समाधान हुँदैन । राजनैतिक दलहरूले त समस्याको समाधान गर्न सक्छन् कि सक्दैनन् भनिरहेको बेलामा गैरराजनैतिक व्यक्ति खोजेर समस्याको समाधान हुन सक्दैन ।

– माओवादीले कम्फर्टेबल राष्ट्रपति खोजेको हो ?

राष्ट्रपति भनेको संविधानको संरक्षक पनि भनिएको छ । संविधानको संरक्षक भन्नेबित्तिकै संविधानले परिभाषित गरे अनुसार गर्नुपर्छ कि पर्दैन ? संविधानले परिभाषित गरेको कुरा सरकारले गरेको सिफारिसहरू राष्ट्रपतिले अनुमोदन गर्ने हो स्वीकार गर्ने हो, प्रमाणीकरण गर्ने हो । संसद्ले गरेका कामहरू राष्ट्रपतिले प्रमाणीकरण गर्ने हो ।

ठीक बेठीक केही भए सरकार जवाफदेही हुन्छ , संसद् जवाफदेही हुन्छ । जुन अङ्गले सिफारिस गरेको हुन्छ त्यही अंग जवाफदेही हुन्छ । संविधानले भनेको कुरा त्यो हो । राष्ट्रपतिलाई आफ्नो छुट्टै ढंगले निर्णय गर्न पाउने अधिकार छ छैन । त्यसकारणले विगतमा भएका अभ्यासहरू संविधानसम्मत भए कि भएन भन्ने कुरा त तपाईँ पत्रकार मित्रहरूलाई जानकारी नभएको विषय भएन ।

– अर्को प्रसंग, माओवादीले अहिले माओवाद छोड्दै गरेको कुरा आइरहेको छ । यो बाध्यता के आइलागेको ?

खै अब यो विषय तपाईंले उठाउनुभयो मलाई सबै कुरा जानकारी भएन । जे जानकारी गराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद ।

– बाबुरामलगायतलाई भित्र्याउन माओवाद छोड्न लागेको भन्ने कुरा त पार्टीभित्र व्यापक छ नि त ?

अहिले नै पार्टी एकता नै नभई नामको विषयमा टुंगो लाग्ने कुरा त भएन । पार्टी एकता गर्ने बेलामा साझा मान्यता हुन सक्छ । नेपाल कम्युनिष्ट पार्टी निर्माणको अभियानमा छौं अहिले । नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्ने हुँदा नेपाल कम्युनिष्ट पार्टीको नाम फेर्ने कुरा त त्यो अभियानविपरीत कुरा भयो ।

नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्ने कुरा कुनै सत्यता सँग जोडिएको छैन । नामको पुच्छारमा जोड्ने सन्दर्भमा सबैले जोडिरहेका छन् । कसैले कुनै पुच्छर जोडेका छन्, कसैले कुनै पुच्छर जोडेका छन् । पुच्छर जोड्ने कुरामा सबैलाई मान्य के हुन सक्छ भन्ने सन्दर्भमा हेर्ने कुरा एउटा होला त्यो पनि पार्टी एकता गर्ने बेलामा मात्र हुने कुरा भयो । अहिले त त्यो पनि छलफलमा अघि बढेको छैन । त्यस कारणले उठ्दै नउठेको विषय तपाईंले चर्चा गरिदिनुभएकोमा धन्यवाद ।

– तपाईंहरू बेलाबेलामा वृहत् वाम एकताको कुरा पनि गर्नुहुन्छ । माओवादीबाटै टुक्रिएका साना पार्टी एकै ठाउँमा आउन नसकिरहेका बेला वृहत् वाम एकता सम्भव छ त ?

त्यो असम्भव भन्ने कुरा केही पनि छैन । यदि कम्युनिष्टको कुरा गर्ने हो भने एउटा मुलुकमा एउटा मात्रै कम्युनिष्ट पार्टी हुन्छ । धेरै कम्युनिष्ट पार्टी हुन सक्दैन तर, विडम्बनाको विषय नेपाललगायत दक्षिण एसियाली मुलुकहरूमा थोरैथोरै मतभेदको आधारमा फरक फरकका पार्टीहरू बनाउने अलग-अलग पार्टी बनाउने जो अभ्यासको सुरूवात भएको छ । त्यो विषय नै रिभ्यू भइरहेको छ ।
त्यस कारणले विचार मिल्नेहरूको विषयमा एकीकरण र एकताको प्रक्रिया अघि बढाउनुको विकल्प छैन । अन्ततः ढिलो चाँडो सबै कम्युनिष्टलाई एकीकरण र एकता गर्दै वृहतरूपमा एउटै प्रकारको कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

– हिजो माओवादी र एमाले त एक हुन सकेनन् । दर्जनौँ कम्युनिष्टहरू एक बनाउने कुरा सफल हुन्छ त ?

सफल र असफल भन्ने कुरा त एकै पटकमा हुँदैन नि । यो त आन्दोलनको यात्रा हो । आन्दोलनको यात्रामा सबै कदमहरू सफलमात्रै हुन्छ भन्ने पनि हुँदैन । यो त अभ्यास र अभियानको क्रममा हुँदै जाने कुरा हो कहिले सफल कहिले असफल । तर, अन्ततः सफलताको विकल्प छैन ।

– एमाले-माओवादीसहितको वाम एकता हुने सम्भावना अझै देख्नुहुन्छ है ?

एमाले माओवादीमात्र नभई सबै वाम घटकहरूको एकीकरणको कुरा हो । दुई पार्टीमा मात्र होइन ।

– अन्त्यमा, सुदूरपश्चिममा विश्वासको मत पाउन नसकेर एमाले सरकार १ महिनामै ढल्यो । माओवादी वा नागरिक उन्मुक्तिले मत नदिए अहिले बनेको कांग्रेस सरकार पनि लामो चल्ने अवस्था छैन । केन्द्रमा माओवादीलाई कांग्रेसले विश्वासको मत दिएको गुण यहाँ माओवादीले कांग्रेस सरकारलाई विश्वासको मत दिएर तिर्छ ?

यसमा अहिलेसम्म त्यस्तो छलफल भएको त छैन । निश्चितरूपले गत समयमा जुन सरकार निर्माण भएको थियो त्यसैलाई विश्वासको मत दिएर अघि बढाउनुपर्ने हो । नागरिक उन्मुक्ति पार्टीका कारणले विश्वासको मत प्राप्त गर्न सकेन । नागरिक उन्मुक्ति पार्टी रेशम चौधरीको रिहाईको बारेमा राजनैतिक मुद्दा फिर्तासम्बन्धी जुन कुरा उठाइरहेको छ । त्यो मुद्दाको बारेमा हामीले त सकारात्मक रूपले हेर्दै आइरहेका छौँ ।

– मेरो जिज्ञासा अहिलेको सरकारलाई विश्वासको मत माओवादीले दिन्छ कि दिँदैन ?

अहिलेको सरकारलाई विश्वासको मत दिने विषयमा कुनै चर्चा परिचर्चा चलेको छैन ।

– त्यसो भएर सुदूरपश्चिम सरकार गठन प्रक्रिया उपधारा ५ मा जाने भयो है ?

यो १६८ (२) भनेको बहुमतको अर्थात् ५१ प्रतिशतको सरकार हो । ५१ प्रतिशतको सरकार जहिले पनि आकर्षित भइरहन्छ । ३ पछि ५ बाट सुरू त होला तर, ५ पछि फेरि २ मा फर्किने हो । त्यस कारणले १६८ (२)को सम्भावना रहँदासम्म यहाँको प्रदेशसभा विघटन हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर