लुम्बिनीका सुरक्षा अधिकारीसँग मुख्यमन्त्रीको चासो, सीमा सुरक्षा कसरी सुदृढ बनाउने ? – Nepal Press

लुम्बिनीका सुरक्षा अधिकारीसँग मुख्यमन्त्रीको चासो, सीमा सुरक्षा कसरी सुदृढ बनाउने ?

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।

प्रदेश सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने, ‘प्रदेशको शान्ति सुरक्षाको अवस्था खलबलिनु हुँदैन । यसतर्फ यहाँहरु चनाखो हुनुपर्दछ । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको दायित्व हो । यो कुरा हामीले भुल्नु हुँदैन ।’

प्रदेशका केही जिल्लाहरुको शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै मुख्यमन्त्री गिरीले यसतर्फ निगरानी बढाउन सुरक्षा संयन्त्रले निगरानी बढाउनुपर्ने बताए । ‘प्रदेशका बाँके, बर्दिया, कपिलवस्तुलगायत भारतीयसँग सीमा जोडिएका जिल्लाको सुरक्षा अवस्था कमजोर रहेको जनगुनासा आइरहेका छन् । यी जिल्लाहरुमा निगरानी बढाउनुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘शान्ति सुरक्षाको अवस्था कमजोर रहेका जिल्लामा विशेष अभियान चलाउनुपर्दछ । यसका लागि प्रदेश सरकारले यहाँहरुलाई सबैखालका सहयोग गर्छ ।’

प्रदेशमा क्यासिनो संस्कृतिले बिकृति फैलाइरहेको जनगुनासो आइरहेको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘बाँकेलगायतका जिल्लामा क्यासिनो संस्कृति भित्रिएको र यसले बिकृति फैलाइरहेको चौतर्फि गुनासा आइरहेका छन् । यसको रोकथामका लागि निर्माण भएको कानुनको कार्यान्वयन गर्नुहोला र यसलाई रोक्न सकिएन भने ठूलो बिकृति मौलाउँछ ।’

खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव खलबलिने घटना रोकथाम गर्नतर्फ सुरक्षा संयन्त्र लाग्नुपर्ने बताए । ‘समय समयमा सामाजिक सद्भाव खलबल्याउने खालका घटनाहरु घटिरहेका छन् । जसले समाजलाई विखण्डनाको बाटोतर्फ लैजान्छ । यसलाई रोक्न सुरक्षा निकायले आफ्नो भूमिका बढाउनुपर्दछ’, मन्त्री आचार्यले भने, ‘समाजमा दण्डहीनताका घटनाकाम साथै आत्महत्याका घटनाहरुमा पनि बृद्धि भइरहेको छ । यसको रोकथामका लागि प्रहरीले विशेष अभियान थाल्नुपर्दछ ।’

नेपाल प्रहरीका डीआईजी टेकप्रसाद राईले सीमावर्ती क्षेत्रमा डकैती बढ्दै गइरहेको बताए । बाँके, बर्दिया, कपिलवस्तुलगायतका सीमावर्ती क्षेत्रमा गुण्डागर्दी, लागुऔषध ओसारपसार, चेलिबेटी बेचबिखनलगायतका घटना घटिरहेको भन्दै यसको रोकथामका लागि प्रहरीले विशेष अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

‘सीमावर्ती जिल्लामा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गर्दै छ । यही फागुन ४ गतेदेखि थालिने विशेष अभियानले जनतामा शान्ति सुरक्षा प्रदान गर्नेछ’, डिआईजी राईले भने , ‘स्रोतसाधनको अभावमा पनि नेपाल प्रहरीले जनतालाई सुरक्षा प्रदान गरिहेको छ ।’ बैठकमा नेपाली सेनाका मध्यपश्चिम पृतनाका उपरथी नवराज गुरुङलगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर