शतक हानेपछि कुशलको प्रतिक्रिया- ओपनिङमै सहज महसुस गर्छु – Nepal Press

शतक हानेपछि कुशलको प्रतिक्रिया- ओपनिङमै सहज महसुस गर्छु

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हानेपछि कुशल भुर्तेलले यतिवेला टीममा सकारात्मक माहोल रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी पुरुष विश्वकप क्रिकेट लिग- २ अन्तर्गत नामिबियाविरुद्धको खेलमा ओपनर कुशलले कप्तान रोहित पौडेलसँग कीर्तिमानी १३३ रनको साझेदारी गर्दै सर्वाधिक ११५ रनको शतकीय इनिङ खेलेका थिए ।

‘पहिलो एकदिवसीय शतक हान्दा धेरै नै खुशी छु । मैले गर्दा जितेको भन्दा पनि पूरै टीमले राम्रो गरेको छ । टीममा सबै सकारात्मक छन् । सन्दीप लामो समयपछि मैदान फर्कियो, उनलाई पनि सबैले हौसला दिएका छन् । एउटा सकारात्मक माहोल छ टीममा’, उनले भने ।

देव ह्वाटमोर नेपाली टीमको प्रशिक्षक हुँदा नेपाली क्रिकेटले पाएको ओपनिङ जोडी हो आसिफ शेख र कुशल भुर्तेल । ह्वाटमोरले प्रशिक्षक पदबाट राजीनामा दिएपछि कुशलको प्रदर्शन पनि खस्किएको थियो ।

पछिल्लो समय उनले ओपनरभन्दा पनि फिनिसरको भूमिका निभाइरहेका थिए । तर, उनले विभिन्न उतारचढावपछि राष्ट्रिय टीममा आजको खेलबाट पुनरागमन गरेकोभन्दा फरक पर्दैन ।

कुशल ओपनिङमा आएर ४७.२ ओभरमा क्याच आउट भएका थिए । आजको खेलमा ओपनरको भूमिका प्रशिक्षकले दिए पनि आफू ओपनिङमै बढी सहज महसुस गर्ने उनले बताए ।

‘म आफ्नो नराम्रो समयको बारेमा धेरै सोच्दिनँ कडा मेहनत गरेको छ भने पक्कै राम्रो समय पनि आउँछ भन्ने लाग्छ । मलाई आजको खेलमा कोचले नै ओपनरको भूमिका दिनु भएको हो । म पनि ओपनिङ गर्दा नै बढी सहज महसुस गर्छु’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर