स्ववियूमा अरुको बलिङलाई अनेरास्ववियुले छक्का हान्छ, अरु पछि जन्मिएका भाइबैनी संगठन : केपी ओली (भिडिओ) – Nepal Press

स्ववियूमा अरुको बलिङलाई अनेरास्ववियुले छक्का हान्छ, अरु पछि जन्मिएका भाइबैनी संगठन : केपी ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताएका छन् । कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताए । उनले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउने खालको हुनुपर्ने बताए ।

कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरुलाई आग्रह गरे ।

‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने कसैले । कसैले क्या मौका मिल्यो, पढ्न गाह्रो भइराखेको थियो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा च्याप्प समात्यो, कुद्यो’, उनले भने, ‘वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिल्कुल नचाहिने काम थियो । र त्यो संस्थागत रुपमा कसैले दिएको पनि होइन । केही मान्छेका लहडमा बुर्जुवा शिक्षा, मानिलिउँ सर्वहारा शिक्षाको युनिभर्सिटी कतै उनले खोलेर राखेको जस्तो । त्यहाँ गएर पढ्दा हुनेजस्तो । अथवा मान्छेलाई अनपढ बनाउने बाटो । म तपाईहरुलाई भन्न चाहन्छु हाम्रा विद्यार्थी भाइ बैनीहरु, अनेरास्ववियुका भाइबैनीहरु ट्यालेन्ट हुनुपर्दछ । परीक्षामा प्रथम, द्वितीय, तृतीय, चौथो हुने को हो भन्दा अनेरास्ववियुका विद्यार्थी । आन्दोलनले गर्दा पढ्नै पाइएन । त्यस्तो कहिल्यै पनि हुँदैन ।’

अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुने कुरामा विश्वास व्यक्त गरे । उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका टिप्पणी गरे । उनले नेविसंघलाई अनेरास्ववियुले जहिलेपनि छक्का हान्दै आएको बताए ।

‘नेविसंघ भनेको अनेरास्ववियुसँग जित्न नसकेर २७ सालमा, २६ सालमा निउ खोजेर अलग भएर २७ सालदेखि अलग्गै संगठनको रुपमा काम गरेको । २६ सालमा अनेरास्ववियु फुटाएर नेविसंघ बनाएको । अनेरास्ववियुभित्र लड्न नसकेर, अडिन नसकेर, टिक्न नसकेर भागेको संगठन हो । अब अरु पछि जन्मिएका भाई, बहिनी संगठनहरु यसो खेल्दैछन् । सिक्दैछन्’, उनले भने, ‘तपाईहरुको संगठनका भाइबैनी संगठन हुन् तिनीहरु । ति त पछिपछि हामीसँग सिक्दै त्यसरी खोल्दै गएका हुन् । त्यसकारण अहिले उनीहरुको जित्ने बेला भएको छैन । अहिले उनीहरु सिक्ने हो । नेविसंघलाई हामीले जहिल्यैपनि छक्का हान्दिने गरेको हो ।त्यसकारण मैले विश्वास लिएको छु यसपल्ट पनि तपाईहरुको ब्याटिङ डरलाग्दो
हुनेछ ।’

ओलीले अगाडि थपे, ‘तपाईहरुले स्ववियु निर्वाचनमा अरुको बलिङलाई छक्का हानेर दर्शक दिर्घामा पुर्याइदिनुहुनेछ । हरेक क्याम्पसमा अनेरास्ववियु । यसरी तपाईहरु जानुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

त्यस्तै, अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे । उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर