‘जनकपुर यातायातमा एक महिनामै १० करोड भ्रष्टाचार हुन्छ, बिना घुसको लाइसेन्स बन्दैन’ – Nepal Press

‘जनकपुर यातायातमा एक महिनामै १० करोड भ्रष्टाचार हुन्छ, बिना घुसको लाइसेन्स बन्दैन’

जनकपुरधाम । मधेस प्रदेशसभामा नेकपा एमालेका सांसद दिपेन्द्र ठाकुरले जनकपुर यातायात कार्यालयमा मात्रै मासिक १० करोड रुपैयाँ भ्रष्टाचार हुने गरेको बताएका छन् ।

संसदलाई सम्बोधन गर्दै उनले भने, ‘सवारी लाइसेन्सका लागि कम्तिमा २० हजार रुपैयाँ घुस लिने गर्छन् । हरेक महिना ५ हजार लाइसेन्स वितरण हुन्छ । यसरी हिसाव गर्दा मासिक १० करोड भ्रष्टाचार भइरहेको छ ।’

कुनै बेला भारत विहारमा शैक्षिक प्रमाणपत्र बिक्री हुन्थ्यो त्यसरी नै अहिले मधेश प्रदेशमा सवारी लाइसेन्स बिक्री भइरहेको सांसद ठाकुरले बताए । अहिले हुम्ला, जुम्लासहित ७७ जिल्लाबाटै मानिसहरु घुस दिएर सवारी लाइसेन्स बनाउन मधेस आउने गरेको उनको भनाई थियो ।

बिना घुस कुनै पनि हालतमा लाइसेन्स बनाउन नसकिने अवस्था रहेको उनले बताए । सवारी लाइसेन्समा व्यापाक भ्रष्टाचार भइरहेको भन्दै नियन्त्रण गर्न प्रदेश सरकारसँग माग गरे ।

उनले विगतका सरकारले भरत तालको नाममा ४२ करोड र सर्प पालनका लागि १३ करोड सिधा रकम पठाएकोमा आपत्ति जनाए । उनले उपभोक्ता समिति विकासको नाममा चोरी गर्ने गरेकोमा दुःख व्यक्त गरे । उनले माननीयको नाम लिएर उपभोक्ताहरु कमसल काम गर्ने गरेको पनि बताए ।

उनले न्याय किन्नुपर्ने अवस्था देखिएकोले त्यसलाई नियन्त्रण गर्न र गरिब निमुखा पनि सहज रुपमा न्याय पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘जनताको हितमा काम गर्न नसकिए प्रतिनिधि भएर बसिरहने अधिकार हामीलाई छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर