सन्दीपको कमब्याक : ३ विकेट लिए तर महँगो बलिङ – Nepal Press

सन्दीपको कमब्याक : ३ विकेट लिए तर महँगो बलिङ

पक्राउ पर्दा नरोएका सन्दीप जब मैदानमा रोए

काठमाडौं । त्रिकोणात्मक एक दिवसीय शृङ्खला अन्तरगत नेपालको पहिलो खेलमा सबैको ध्यान सन्दीप लामिछानेतर्फ केन्द्रित थियो । करिब ६ महिनापछि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै थिए ।

टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवातमा कसिलो बलिङ गरेको थियो । मात्र ७ रनको अवस्थामा सोमपाल कामीले विकेट लिएर नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । तर, त्यसपछि भने नामिबियाका ब्याट्सम्यानहरुले नेपाललाई दबाबमा राखे । नामिबियाले १० ओभरमा ४४ रन बनाएको अवस्थामा नेपालका कप्तान रोहित पौडेलले सन्दीपलाई बलिङमा पठाएका थिए ।

पहिलो ओभरमा सन्दीपले ‘ड्रिम स्टार्ट’ गरे । पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा नामिबियाका ओपनरलाई बोल्ड गर्दै पेभिलियन पठाए । सन्दीपका लागि यो विकेट सम्भवतः आफ्नो करिअरकै बहुमूल्य थियो । उनले नेपालका लागि योभन्दा महत्वपूर्ण धेरै विकेट लिएका छन् । तर, यो विकेट उनका लागि यस कारण अविस्मरणीय बन्यो कि उनी निकै ठूलो मानसिक दबाबका बीच मैदानमा फर्किएका थिए ।

यौनजन्य कसुरमा पक्राउ परेर जेलसमेत बसेका सन्दीप उच्च अदालतको फैसलाअनुसार धरौटीमा छुटेका हुन् । उनलाई राष्ट्रिय टिममा समावेश गरिँदा एकथरीले चर्को विरोध गरेका थिए । तर, क्यानले बोल्ड डिसिजन गर्दै उनलाई राष्ट्रिय टिममा राखेको हो । सन्दीप अझै पनि आफूमाथि लागेको आरोपबाट मुक्त भइसकेका छैनन् । भविष्यमा फेरि जेल जानुपर्ने खतरा टरिसकेको छैन । तर, मैदानमा उनी आफ्नो खेल कौशल को पुनः पुष्टि गर्न चाहन्थे ।

दोस्रो बलमा विकेट आएपछि सन्दीप एकाएक भावविव्हल भएका थिए । उनलाई साथी खेलाडीहरूले घेरेर अंकमाल गरे । सन्दीपले आँशु पुछे । र फेरि खेलमा केन्द्रित भए ।

सन्दीप त्यति कमलो मन भएका खेलाडी होइनन् । उनले त्रिभुवन विमानस्थलमा प्रहरीबाट पक्राउ पर्दा पनि आफ्नो आँशु देखाएका थिएनन् । तर, आज मैदानमा उनी भावुक बने ।

बलिङमा भने सन्दीपको प्रदर्शन मिश्रित रह्यो । पहिलो विकेटपछि सन्दीपले संघर्ष गरे । उनको बलमा विपक्षी ब्याट्सम्यानहरुले खुलेर खेल्न थाले । १० ओभर बलिङ गर्दा सन्दीपले ६६ रन खर्चिएका छन्, जुन उनको स्तरमा कमजोर प्रदर्शन हो । यद्यपि, अन्तिम ओभरमा थप दुई विकेट लिएर उनले आफ्नो आँकडा सुधारेका छन् ।

आजको खेलमा नेपालका बलिङ फ्लप भएको छ । करण केसीले ५ विकेट लिए पनि रनको रफ्तार रोक्न सकेनन् । दीपेन्द्रसिंह ऐरीले किफायती बलिङ गरे तर विकेट लिन सकेनन् । फलतः नेपालले २८६ रनको विशाल लक्ष्य पछ्याउनुपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर