अनेरास्ववियुको २२ सालदेखिका २२ महाधिवेशनः सुजनदेखि सुनितासम्म यी हुन् हालसम्मका अध्यक्ष – Nepal Press

अनेरास्ववियुको २२ सालदेखिका २२ महाधिवेशनः सुजनदेखि सुनितासम्म यी हुन् हालसम्मका अध्यक्ष

काठमाण्डौ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औँ महाधिवेशन आजबाट सुरू भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन गर्दैछन् ।

महाधिवेशनबाट १७ पदाधिकारीसहित १९९ केन्द्रीय सदस्य रहेको नयाँ नेतृत्व चयन गर्नेछ । २३ औँ महाविधेशनबाट अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल प्रमुख आकांक्षी छन् ।

अबको अध्यक्षमा लामिछाने र बडालमा एक हुने चर्चाबीच यस अगाडिका अनेरास्ववियुको अध्यक्षहरूको नाममा पनि चासो बढेको छ । अनेरास्ववियुका अध्यक्ष बनेकाहरू बार अध्यक्ष, राजदूतदेखि मन्त्री हुँदै मुख्यमन्त्रीसम्म भएका छन् । चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीदेखि नेपाल बारका पूर्वअध्यक्ष विश्वकान्त मौनाली अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् ।

एमालेका वर्तमान महासचिव तथा लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेल अनेरास्ववियुकै पूर्वअध्यक्ष हुन् । यस्तै प्रदेश १ का अहिलेका मुख्यमन्त्री हिक्मत कार्कीदेखि पूर्वमुख्यमन्त्री राजेन्द्र राई पनि अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । यस्तै संघीय मन्त्री भइसकेका योगेश भट्टराई, रवीन्द्र अधिकारी, रामकुमारी झाँक्री पनि अनेरास्ववियुको नेतृत्व सम्हालिसकेका छन् ।

हालसम्म को-को भए अध्यक्ष ?

पहिलो महाधिवेशन

अखिलको पहिलो महाधिवेशन २०२२ सालमा भएको थियो । अध्यक्षमा सुजन खरेल चुनिएका थिए ।

दोस्रो महाधिवेशन

दोस्रो महाधिवेशन २०२५ सालमा भएको थियो । विश्वकान्त मौनाली अध्यक्ष भएका थिए ।

तेस्रो महाधिवेशन

गोविन्दमान श्रेष्ठ तेस्रो महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए । तेस्रो महाधिवेशन २०२६ सालमा भएको थियो ।

चौथौ महाधिवेशन

२०२९ सालमा भएको चौथौ महाधिवेशनबाट अखिल अध्यक्षमा मुकुन्दबहादुर श्रेष्ठ चयन भएका थिए ।

पाँचौ महाधिवेशन

२०३६ सालको विद्यार्थी आन्दोलनको रापतापको समयमा भएको अखिलको पाँचौ महाधिवेशन धेरै चर्चित बनेको थियो । टंक कार्की उक्त महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए ।

छैटौँ महाधिवेशन

२०३८ सालको छैटौँ महाधिवेशनबाट टंक कार्की अध्यक्ष भएका थिए । सोही कार्यकालमा गौरी प्रधानलाई संयोजक समेत बनाइएको थियो ।

सातौँ महाधिवेशन

रामप्रसाद ज्ञवाली अध्यक्ष चुनिएको सातौँ महाधिवेशन २०४० सालमा भएको थियो ।

आठौँ महाधिवेशन

२०४२ सालमा भएको आठौँ महाधिवेशनबाट चन्द्र भण्डारी अध्यक्ष चुनिएका थिए ।

नवौँ महाधिवेशन

२०४४ सालमा भएको अखिलको नवौँ महाधिवेशनबाट तुलबहादुर गुरुङ अध्यक्ष भएका थिए ।

दशौँ महाधिवेशन

दशौँ महाधिवेशन २०४७ सालमा भएको थियो । अध्यक्षमा तुलबहादुर गुरुङ नै दोहोरिएका थिए ।

एघारौँ महाधिवेशन

२०४८ सालमा भएको अखिलको एघारौँ महाधिवेशनमा शंकर पोखरेल अध्यक्ष भएका थिए ।

बाह्रौँ महाधिवेशन

२०५० सालमा भएको बाह्रौँ महाधिवेशनबाट रामनाथ ढकाल अध्यक्ष चुनिएका थिए ।

तेह्रौँ महाधिवेशन

योगेश भट्टराई तेह्रौँ महाधिवेशनबाट अध्यक्ष भएका थिए । उक्त महाधिवेशन २०५२ मा भएको थियो । पछि बीचमा अरुण नेपाल अध्यक्ष बनाइएका थिए ।

चौधौँ महाधिवेशन

२०५५ सालमा भएको चौधौँ महाधिवेशनबाट हिक्मत कार्की अध्यक्ष भएका थिए । सोहि महाधिवेशनताका भएका मालेनिकट अनेरास्ववियु अध्यक्ष रुपनारायण श्रेष्ठलाई पनि अध्यक्षकै सूचीमा राखिएको छ ।

पन्ध्रौँ महाधिवेशन

२०५७ सालमा भएको पन्ध्रौँ महाधिवेशनबाट राजेन्द्र राई अध्यक्ष भएका थिए । सोही सयममा मालेनिकटबाट रवीन्द्र अधिकारी पनि अध्यक्ष बने ।

सोह्रौँ महाधिवेशन

२०५९ सालमा भएको सोह्रौ महाधिवेशनबाट राजेन्द्र राई अध्यक्षमा दोहोरिएका थिए ।

सत्रौँ महाधिवेशन

२०६२ सालमा सत्रौँ महाधिवेशन भएको थियो । महाधिवेशनबाट खिमलाल भट्टराई अध्यक्ष चुनिएका थिए ।

अठारौँ महाधिवेशन

२०६३ सालमा भएको महाधिवेशनबाट ठाकुर गौरे अध्यक्ष चुनिएका थिए ।

उन्नाइसौँ महाधिवेशन

रामकुमारी झाँक्रि अध्यक्ष चुनिएको उन्नाइसौँ महाधिवेशन २०६५ सालमा भएको थियो ।

बीसौँ महाधिवेशन

माधव ढुंगेल अध्यक्ष चुनिएको बीसौँ महाधिवेशन २०६७ सालमा भएको थियो ।

एक्काइसौँ महाधिवेशन

२०७० सालमा भएको एक्काइसौँ महाधिवेशनबाट किशोर विक्रम मल्ल अध्यक्ष भएका थिए ।

बाइसौँ महाधिवेशन

२०७२ सालमा भएको बाइसौँ महाधिवेशनबाट नविना लामा अध्यक्ष भएका थिइन । लामाले संसदीय यात्रा गरेपछिको समयमा ऐन महर र सुनिला बराललाई एमालेले अध्यक्ष तोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर