अखिलबाट स्वेच्छिक अवकाशको घोषणा गर्दै उपाध्यक्ष पाण्डेले भने- विद्यार्थीको नेतृत्व विद्यार्थीलाई नै दिउँ – Nepal Press

अखिलबाट स्वेच्छिक अवकाशको घोषणा गर्दै उपाध्यक्ष पाण्डेले भने- विद्यार्थीको नेतृत्व विद्यार्थीलाई नै दिउँ

काठमाडौं । अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डेले संगठनको अध्यक्षमा दाबी नगरी बिदा लिने घोषणा गरेका छन् ।

आजबाट शुरु भएको २३ औँ महाधिवेशनमा अरू सबै उपाध्यक्षहरूले अध्यक्षको दाबी गरेका बेला पाण्डेले भने विगतको प्रतिबद्धता अनुरूप आफूले कुनै पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

पाण्डेले विज्ञप्ति जारी गर्दै १८ देखि २८ वर्षका युवा पुस्ता संगठनका अघि आइसकेको र विद्यार्थी राजनीतिमा पनि उनीहरू नै प्रखर रहेको भन्दै विद्यार्थी संगठनको नेतृत्वमा विद्यार्थी नै आउन् भनेर आफू बिदा भएको बताएका छन् ।

यस्तो छ पाण्डेको वक्तव्य

नेपाली विद्यार्थीहरूको भरपर्दो र लोकप्रिय संगठन अनेरास्ववियु २३औँ महाधिवेशन आज देखि काठमाडौंमा सुरु हुँदैछ । हाम्रो संगठनको आन्तरिक जीवनमा मात्र होइन समग्र नेपाली विद्यार्थी आन्दोलनलाई समेत स्पष्ट दिशा बोध गर्ने हिसाबले पनि यो महाधिवेशन महत्त्वपूर्ण, स्मरणीय र ऐतिहासिक हुनेछ ।

मौलिक अधिकारका रूपमा संविधानमा उल्लेख भएको निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न, विद्यालय र विश्वविद्यालयहरू सुधार गर्न र डरलाग्दो ढंगले उच्च शिक्षा हासिल गर्न विदेश जाने र उतै पलायन हुने दर र प्रवृत्ति रोक्न विद्यार्थी संगठनहरुको निर्णायक हस्तक्षेपकारी पहलकदमी हुन जरुरी छ ।

नीति तथा विधान महाधिवेशन सम्पन्न भइसकेको हुनाले २३औँ राष्ट्रिय महाधिवेशन मूलतः नेतृत्व चयनमा केन्द्रित हुनेछ । हिजो पञ्चायती व्यवस्थाको विरुद्ध भूमिगत कालमा वा २०६२र६३ सालको जनआन्दोलन ताका जस्तो राजनीति आन्दोलनमा होमिनु परेका कारण विद्यार्थी जीवन पश्चात् पनि विद्यार्थी वर्गको प्रतिनिधिका हिसाबले विद्यार्थी संगठनलाई नेतृत्व प्रदान गर्ने परिपाटी हो । तर नयाँ पुस्ता जबरजस्त राजनीतिमा आउन खोजेको अहिलेको सन्दर्भमा हामी गैर विद्यार्थीहरू ले विद्यार्थी संगठन कब्जा गरेर बस्ने हो भने समयले हामीलाई कुरेर बस्दैन ।

अब विद्यार्थीहरूको संगठन विद्यार्थीहरूलाई नै नेतृत्व गर्न दिनु पर्छ । अनेरास्ववियु मात्र हैन पार्टी सबै जनसंगठनहरु जुन वर्ग/पेशा/समुदायको हक, हित र अधिकारका लागि स्थापना भएको हो त्यही समुदायको असली प्रतिनिधिबाट नेतृत्व प्रदान गर्दा उद्देश्य हासिल हुन सक्छ ।

जनताको बहुदलीय जनवाद जस्तो नेपाली समाजलाई नेतृत्व गर्ने विचार र केपी शर्मा ओली जस्तो आजको युग सुहाउँदो नेता भएको हाम्रो पार्टीमा नयाँ पुस्ता प्रवेश गर्ने बिन्दुमै छेकबार लगाउने ट्रेन्डले सुखद नतिजा दिँदैन । सांगठनिक हिसाबले आजको पुस्ताले विकल्प खोज्न सक्छ । निकट विगतको प्रतिनिधिसभा निर्वाचनमा पनि त्यस खालको संकेत प्रकट भएको छ ।

अनेरास्ववियुको आज देखि सुरु हुने महाधिवेशनले पनि विद्यार्थी संगठनको नेतृत्वमा विद्यार्थीहरू नै आउन भन्ने कुरामा जोड दिनेछ । विभिन्न भूगोल र विश्वविद्यालयबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रतिनिधि साथीहरूले मूल नेतृत्व, पदाधिकारी मात्र हैन केन्द्रीय कमिटी र आयोगहरू समेतमा नेता छनौट गर्दा नेतृत्वमा आउन इच्छुक नेताहरू विद्यार्थीको दैनिक समस्या समाधानमा शैक्षिक संस्थामा उपस्थित हुन्छन् की हुन्नन् ? विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूको पाठ्यक्रम, भर्ना, परीक्षा, रिजल्ट र अध्ययन अध्यापन लगायतका शिक्षा र विद्यार्थी सम्बन्धी तमाम मामिलामा अपडेट छन् की छैनन् ? यी र यस्ता विषयमा ध्यान दिनै पर्छ । हुन त प्राप्त विकल्प मध्ये तै बेसेक नेतृत्व छान्नु बाध्यता पनि छ । हाम्रो पुस्ता खासगर पाको छ, खारिएको छ, विद्यार्थी आन्दोलनमा योगदान गरेको छ, आफ्नो जवानीको एक देखि दुई दशक यही आन्दोलनमा बिताएको छ, सबै छ तर अहिलेका १८ देखि २८ वर्ष उमेर समूहका विद्यार्थीको बारेमा अपडेट छैनौँ की जस्तो लाग्छ ।

महाधिवेशन उद्घाटनको यस क्षणमा आइपुग्दा कमरेड सुनिता बरालको नेतृत्वमा हामीले १५ महिना यो नेकपाको गठन र विघटनले थलिएको, अस्तव्यस्त भएको संगठनलाई सांगठनिक हिसाबले पनि र नीति तथा विधान महाधिवेशनका माध्यम बाट नीति तय गर्ने एवम् विधान निर्माण गर्ने हिसाबले केहि कामहरू गरेका छौँ ।

शैक्षिक समस्या समाधानका हिसाबले पनि शैक्षिक संस्था एवम् विश्वविद्यालयमा तालाबन्दी लगायतका विकृतिहरूको सशक्त प्रतिवाद गर्ने जस्ता सुधारका प्रयासहरू पनि भएका छन् ।

२०७८ साल असोजमा संगठन पुनर्गठन गर्दा गरेको प्रतिबद्धता बमोजिम नै २३औँ महाधिवेशनमा मेरो कुनै पदमा उम्मेदवारी नरहने र विद्यार्थी संगठनबाट बिदा लिने निर्णय गरेको छु । छत्रदेव ७ अर्घाखाँची भुस्खातमा रहेको सरस्वती माविमा प्राकमा संगठीत भएदेखि लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियुमा २०६२ सालमा अनेरास्ववियुको प्यानल सहित सचिव पदमा विजयी र अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीको अधिवेशनमा अध्यक्ष पदमा निर्वाचित भएपश्चात् रुपन्देही जिल्ला, तत्कालीन लुम्बिनी अञ्चल कमिटी र हालको लुम्बिनी प्रदेश कमिटीलाई नेतृत्व प्रदान गर्ने अवसर प्राप्त भयो । यसका लागि विभिन्न कालखण्डमा सहयोग गर्ने सबै सबै अग्रज, सहयोद्धा र सम्पूर्ण साथीहरू प्रति सम्मान व्यक्त गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर