अनेरास्ववियुको २३ औं महाधिवेशन शुरु, यस्ता छन् उम्मेदवार र निर्वाचन तालिका – Nepal Press

अनेरास्ववियुको २३ औं महाधिवेशन शुरु, यस्ता छन् उम्मेदवार र निर्वाचन तालिका

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसबीचमा पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुन लागेको हो ।

मध्यान्ह १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रज्ञा भवनमा उद्घाटन गर्ने अनेरास्ववियुको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एमाले केन्द्रीय सदस्य तथा अखिल इन्चार्ज माधव ढुंगेलका अनुसार अध्यक्षमा सर्वसम्मतिको प्रयास जारी छ ।

विशेषगरी बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच सहमति कायम हुन सके अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने बताइएको छ । तर अध्यक्षमा सहमतिको सम्भावना नभएकाले अधिकांश पदमा चुनाव हुने देखिएको छ ।

अध्यक्षका एकजना दाबेदार प्रतिस्पर्धाबाट रोक्ने हो भने आफूले आत्मदाह गर्ने चेतावनी समेत दिएपछि यसपटक पार्टीले सहमति भनेर कुनै एउटालाई नबोक्ने नीति लिएको नेताहरुले बताएका छन् ।

प्यानल बनाउँन नदिई व्यक्तिगत प्रतिस्पर्धा गर्न दिने र पार्टीको तर्फबाट कोही पनि आधिकारिक उम्मेदवार नहुने समन्वय संयन्त्रकी सहइन्चार्ज रचना खड्काले बताएकी छन् । अखिलमा हुने चुनावले अन्य जनसंगठनहरुलाई पनि सहज हुने नेताहरुको भनाइ छ ।

कुन पदमा कति उम्मेदवार ?

सहमतिको लागि अध्यक्ष मण्डलले पहल गर्ने तर प्रतिस्पर्धालाई नरोकिने इन्चार्ज ढुंगेलले बताए ।

सहमति नभएको अवस्थामा अध्यक्ष पदमा अहिलेका उपाध्यक्षमध्ये मोति विक,वाङ्छु र झपिन्द्र खत्रीले पनि सशक्त दाबी गरेका छन् ।
सहमति हुँदा खत्री महासचिव बन्न तयार छन् ।

तर चुनाव हुँदा अहिलेका उपमहासचिवहरु सबै महासचिवका दाबेदार बनेकाले उपाध्यक्षहरुलाई महासचिवको प्रतिस्पर्धामा उत्रिन चुनौति छ ।

उपाध्यक्षमध्ये कल्पना वाइबाले भने शुरुदेखि नै आफू अध्यक्षको दाबेदार नरहेको भन्दै महासचिवमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । महासचिव पदमा उपमहासचिवहरु नरेश रोकाय, सुदर्शन शिवाकोटी, नारायण घर्ती, भाष्कर खनाल, गोविन्द गिरी, सचिव धर्म गिरी लगायतको दाबी छ ।

अनेरास्ववियुको उपाध्यक्षमा यसपटक हालका कोषाध्यक्ष जेनिश लामासहित मर्यादा विष्ट, तपेन्द्र शाही, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीलगायतले दावी गरेका छन् ।

सचिवमा सबैभन्दा धेरै आकांक्षी देखिएका छन् । कोषाध्यक्षमा सुजन कार्कीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । १० सचिवका लागि ७० भन्दा बढी उम्मेदवार भएका छन् ।

हालसम्म प्रकाश पौडेल, जिबी गजल, शालिकराम पराजुली, नवराज ढकाल, सजिना थामा मगर, रक्षा बम, स्वरुप सुयल, अन्जु पाण्डे, अन्जना शिवाकोटी, सरोज पोखरेल, सन्तोष राना, घनश्याम भुन, नविन योगी, प्रेम खड्का, पंकज भण्डारी, नरेन्द्र न्यौपाने, वीरेन्द्र रावल, सन्जिव धिताल, आरती भट्टराई, बिनिता काफ्लेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

त्यस्तै रिता ढकाल, मदन विष्ट, हिरा चौलागाई, आशिर्वाद सुवेदी, रोमश खतिवडा, दिपेश प्रसाई, प्रकाश भुजेल, सागर भट्ट, ओमप्रकाश घिमिरे, जयराम बास्तोला, राजेन्द्र गजुरेल, गोविन्द थपलिया, सौगात कार्की, मनोज राई, कल्पना पाल, टुकलाल गैरे, विनोद भट्टराई, प्रकाश भट्ट, सन्तोष पौडेल, आरपी यादव, एकराज दाहाल, प्रकाश श्रेष्ठ, गोकर्ण घिमिरे, मनोज ताम्ली, निता घतानी, मोहित साह पनि सचिवका उम्मेदवार हुन् ।

अखिल सचिवका लागि उज्ज्वल कार्की, अन्जु गौतम, रविन्द्र सुवेदी, अशेष गोइत, नम्रता महर्जन, समुनराज कार्की, सुन्दर खड्का, विनायक आचार्य, रुपक खनाल, सुन्दर घिमिरे, भुषण सुवेदी, सन्तोष पौडेल, प्रज्वल फुयाल, विभा प्याकुरेल, किरण सापकोटाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तो छ निर्वाचन कार्यक्रम

अनेरास्ववियुको महाधिवेशन उद्घाटनलगत्तै अध्यक्ष मण्डलको घोषणा हुने कार्यक्रम छ ।

जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा गठन हुने अध्यक्ष मण्डलमा इन्चार्ज माधव ढुंगेलसहित उनीपछिका अखिल अध्यक्षहरु किशोरविक्रम मल्ल, नविना लामा, ऐन महरसहित पूर्व इन्चार्जहरु रहने बताइएको छ ।

अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सन्चालनका लागि पार्टीको निर्वाचन आयोगलाई जिम्मा दिएको छ । निर्वाचन आयोगका सदस्य कुमार खकुरेलको नेतृत्वमा निर्वाचनको प्रक्रिया अघि बढ्ने इन्चार्ज ढुंगेलले बताए । यसपटक अखिलमा चुनावबाटै नेतृत्व चयन हुने उनले बताए ।

निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेर विद्युतीय भोटिङ मेसिनमार्फत चुनाव गराउँनेछ ।

आजै बेलुकासम्म सबै काम सकेर बुधवार दिनभर मनोनयन प्रक्रिया थालिने र सोही साँझ अन्तिम नामावली प्रकाशन गरेर विहीवार मतदान हुने बताइएको छ ।

अनेरास्ववियुको यो महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर