जनयुद्ध दिवसको बिदा शैक्षिक संस्थाले मानेनन्, अधिकांश निजी विद्यालय–कलेजमा पढाइ – Nepal Press

जनयुद्ध दिवसको बिदा शैक्षिक संस्थाले मानेनन्, अधिकांश निजी विद्यालय–कलेजमा पढाइ

काठमाडौं । सरकारले फागुन १ आज जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । तर, देशभरका शैक्षिक संस्थाहरु सरकारको निर्णयविपरित पूर्ववत सञ्चालन भए ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि मात्रै सार्वजनिक बिदा धेरै भएको टिप्पणी गरेका थिए । तर उनैले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि देशभर विरोध भइरहेको छ । निजी क्षेत्रले पनि सरकारको बिदा स्वीकार गरेन ।

विगतको अभ्यासविपरित यसपटक सार्वजनिक बिदाका दिन बैंकिङ क्षेत्र खुल्यो । अत्यावश्यक सेवा भन्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्था खुला राख्न निर्देशन दिएको थियो । त्यति मात्र होइन सार्वजनिक बिदा हुनेवित्तिकै सबैभन्दा पहिला बन्द हुने विद्यालयहरुले समेत यसपटक बिदा दिएनन् । अधिंकाश विद्यालयहरु खुलेका छन् ।

सरकारले बिदा दिएपनि स्कुलबाट आज पढाई हुन्छ भनेर फोन आएपछि ३ वर्षीया छोरीलाई स्कुल पुयाएको काठमाडौं मुलपानीका चन्दन सापकोटाले बताए । उनले भने, ‘हामी त आज सार्वजनिक बिदा भनेर छोरीलाई नपठाउन लागेका थियौं । स्कुलले बिदा छैन भनेपछि स्कुल पठाइदियौं ।’ प्राइभेट स्कुल भएर बिदा नदिएको हो कि भन्ने उनको अनुमान छ ।

यस्तै काठमाडौंको जया मल्टिपल क्याम्पसमा पढ्ने रक्षा क्षेत्रीले पनि आज आप्mनो कलेज लागेको बताइन् ।

‘सार्वजनिक बिदा भनेपनि हाम्रो त कलेज लाग्यो,’ उनले भनिन् । आफू पढ्ने कलेजमा आजभोलि क्यालेण्डरमा दिएको विदा बाहेक अरु आकस्मिक बिदाहरु नहुने उनले बताइन् ।

शंखमुलमा रहेको लिभरपुल स्कुलमा आज नियमित कक्षा सञ्चालन भयो । धेरै बिदा भइरहेकाले यसपटक बिदा नदिइएको स्कुलका प्रधानध्यापक डा विद्या अधिकारीले बताए ।

उनले भने, ‘धेरै बिदा हुन थालेपछि अभिभावकको आग्रहमा हामीले स्कुल खोलेका हौं । यसअघिको बिदामा पनि हामीले स्कुल खुलाउने गरेका थियौं ।’

ललितपुरमा रहेको निजी विद्यालय बाल ज्ञाानोदय मावि भने बन्द छ । ‘रिस्क’ लिन नचाहेकाले विद्यालय बन्द गरेको शिक्षक निरज रानाले बताए ।

सरकारी विद्यालय परोपकार आदर्श मावि पनि बन्द रहेको छ । तर काठमाडौंका अधिकांश निजी विद्यालय तथा क्याम्पसहरु खुलेका छन् ।

काठमाडौं महानगरपालिकाका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले पूर्वनिधारित कार्यक्रम भएका विद्यालयहरु आज खुलेको बताए ।

उनले भने, ‘सरकारले नै दिएको बिदामा महानगरले अर्को विज्ञप्ति जारी गर्ने कुरा भएन । मैले आज केही विद्यालयहरु खुलेको भन्ने सुनेँ । तर आधिकारिक कुरा बुझ्न पाएको छैन । खुलेका विद्यालयहरुले पनि सरकारको निर्णयको अवज्ञा गरेको नभइ एसईई आउन लागेको भएकाले कक्षाहरु सञ्चालन गरेको हुन सक्छ ।’

‘कन्फयूजन’का कारण विद्यालय खुलेः प्याब्सन

निजी तथा संस्थागत विद्यालय एसोसिएसन प्याब्सनका अध्यक्ष डिके ढुंगानाले दोधारका कारण केही विद्यालय खुलेको बताए ।

उनले भने, ‘हिजो कक्षा सकिने बेलासम्म बिदाको टुंगो आएको थिएन । कम्तिमा बिदा दिने हो भने एक हप्ता अगाडि यसको विषयमा छलफल र निर्णय हुनुपर्यो ।’

प्रि–सेड्युल अनुसार कतिपय परीक्षाहरु हुने भएकाले पनि अधिकांश विद्यालय खुलेको हुन सक्ने उनको अनुमान छ । यस विषयमा थप बुझन नपाएको उनले बताए ।

‘प्याब्सन अन्तरगतका विद्यालयहरुमा बिदा छ । कतिपयलाई नोटिस पुगेन होला । समयमै निर्णय भयो भने यस्तो हुँदैन थियो ।’

 

प्रतिक्रिया

One thought on “जनयुद्ध दिवसको बिदा शैक्षिक संस्थाले मानेनन्, अधिकांश निजी विद्यालय–कलेजमा पढाइ

  1. जसले आज सार्वजनिक बिदा दिन अस्वीकार गरे सलाम छ । यो दिवस् त एउटा पार्टीको लागि मात्र हो । तर जवरजस्ती समग्र देशको बनाउन खोजिदै छ । राज्यको बिद्रोहको दिवस् बनाउने दुस्प्रयास गरिदैँ छ । जनयुद्ध शब्द मै विमती राजनीतिक पार्टीबीच कायम नै छ । यस्तो अवस्थामा सत्ता शक्तिको भरमा सार्वजनिक बिदा घोषर्णा गर्नु सर्वथा गलत छ । बिदा भनेर काम गर्न नपर्ने भएकाले रमाउनेहरूलाइ त खुशी लागेको होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर