प्रदेश सांसद जोशीलाई नेकपा एसमा फर्काउन नेताहरूको दौडधुप, जोशीले माधव नेपाललाई भेट्न मानेनन् – Nepal Press

प्रदेश सांसद जोशीलाई नेकपा एसमा फर्काउन नेताहरूको दौडधुप, जोशीले माधव नेपाललाई भेट्न मानेनन्

कैलाली । डडेल्धुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य डा. तारा जोशीलाई नेकपा एसमा फर्काउन नेताहरूले तीव्र दौडधुप थालेका छन् ।

नेकपा एसमा सांसद तथा नेता भानुभक्त जोशी, माया भट्ट, प्रदेश इन्चार्ज गरिमा शाह, प्रदेश उपाध्यक्ष तथा सांसद शेरबहादुर कुवर लगायतले हिजो सांसद जोशीलाई प्रत्यक्ष भेटेर पार्टीमा लाग्न आग्रह गरेका थिए ।

सांसद जोशीले भने तत्काल नेकपा एसमा फर्किन असम्भव रहेको बताए । उनीहरूले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाललाई भेट्न पनि आग्रह गरेका थिए । सांसद जोशीले त्यो प्रस्ताव पनि अस्वीकृत गरे ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका जोशी केन्द्रीय सदस्य तथा उद्यमशीलता विकास विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

प्रदेशसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यको आकाङ्क्षी रहेका जोशीलाई पार्टीले टिकट दिएन । त्यहाँ नेपाली कांग्रेसका नेता तथा तत्कालीन सामाजिक विकास मन्त्री गोविन्द बोहराले गठबन्धनबाट टिकट पाए ।

२०७४ मा ३५६ मतले मात्रै पराजित भएका जोशीलाई यस पटक जनताले पत्ताउने विश्वास थियो । पार्टी विश्वास नगरेपछि स्वतन्त्र उठे र जिते ।

आफूलाई टिकट दिँदा चासो नदिएको र त्यसपछि कारबाहीका लागि विज्ञप्ति जारी गरेको भन्दै जोशी अहिले नेकपा एकीकृत समाजवासीसँग रुष्ट छन् । उनले आज माधव कुमार नेपाललाई भेट्न पनि मानेनन् ।

पार्टीको प्रदेश कमिटी बैठकमा सहभागी हुन नेपाल हिजो कैलाली आएका थिए । आजबाट प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमकाे आयोजना गरिएको छ । त्यसमा सहभागी भएर आजै नेपाल काठमाडौँ फर्किने छन् । तर, काठमाडौँ जानु अघि नेपाल नै जोशीलाई भेट्न चाहेका थिए । जोशीले भने अहिले तत्काल भेट नहुने सन्देश पठाए ।

जोशीलाई नेकपा एकीकृत समाजवादीका केही नेताहरूले यस अघिबाटै पार्टीमा भित्राउन खोजिरहेका छन् ।

मङ्सिर २८ गते धनगढीमा सम्पन्न नेकपा एकीकृत समाजवादीको प्रदेश बैठकमा पनि जोशीलाई भित्राउनु पर्ने आवाज उठेको थियो । उक्त बैठकमा केन्द्रीय उपाध्यक्ष प्रवेश हमाल पनि उपस्थित थिए ।

बैठकमा रिपोर्टिङ गर्ने जिल्ला इन्चार्ज र अध्यक्षहरूले तारा जोशीलाई पार्टीमा ल्याउन कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

नेताहरूले जोशीलाई पार्टीमा ल्याउन पहल गरिरहेको भएपनि जोशी भने तत्काल नेकपा एकीकृत समाजवादीमा जान नसकिने बताउँदै आइरहेका छन् । जोशी निकट स्रोतका अनुसार जोशी अझै केही समय स्वतन्त्र नै रहन चाहन्छन् ।

‘स्वतन्त्र उम्मेदवार भएर जितेपछि उहाँ स्वतन्त्र नै रहन पनि सक्नुहुन्छ’, जोशी निकट एक नेताले भने, ‘स्वतन्त्र भएर पनि जनताका समस्या बुलन्द पार्ने विषयमा छलफल गरिरहनुभएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर