अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित – Nepal Press

अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित

सिन्धुली । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा पार्वती भट्टराई निर्वाचित भएकी छन्। अधिवेशन भएको सात महिनापछि उनी अध्यक्षमा निर्वाचित भएकी हुन्।

अखिल नेपाल महिला संघ सिन्धुलीको गत भदौ ४ र ५ गते भएको पाँचौँ जिल्ला सम्मेलन पदाधिकारीको टुंगो नलागी सकिएको थियो । अध्यक्ष मण्डलले सदस्यहरूको चाहना विपरीत नेतृत्व चयनमा हस्तक्षेप गरेको भन्दै महिलाहरूले अध्यक्ष मण्डलको माइनुट च्यातेपछि अधिवेशन टुंगोमा नपुगी सकिएको हो थियो।

अखिल नेपाल महिला संघको मस्यौदा विधान २०७८ अनुसार सदस्य छनौटपछि छानिएका सदस्यहरूको पहिलो बैठकले पदाधिकारी चयन गर्ने व्यवस्था भए पनि अध्यक्ष मण्डलले हस्तक्षेप गरेर अवैधानिक तरिकाले पदाधिकारी चयन गरेको भन्दै सदस्यहरूले अध्यक्ष मण्डलका अध्यक्ष रश्मिला देवकोटाको हातको माइनुट खोसेर च्यातेका थिए।

बन्दसत्रमा बहुमत प्रतिनिधिहरू पार्वती भट्टराईको पक्षमा रहँदा पनि अध्यक्ष मण्डलले अध्यक्षमा मेनुका तिमल्सिना, उपाध्यक्षमा राधा कार्की, सर्मिला माझी, सचिवमा रमा कार्की, कोषाध्यक्षमा भद्रा राजभण्डारी र सहसचिवमा तुलसा देवकोटाको नाममा सहमति भएको निर्णय गरेको थियो ।

विधानको धारा २९ मा रहेको सदस्य तथा पदाधिकारी चयनको व्यवस्था अध्यक्ष मण्डलले उलङ्घन गरेको भन्दै भट्टराई पक्षले अखिल नेपाल महिला संघ केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए।

अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष थममाया थापाको प्रमुख आतिथ्यतामा भएको वृहत् छलफलमा सहमति नजुटेपछि भट्टराई र तिम्लसिनाबीच अध्यक्ष पदको लागि चुनाव गरिएको थियो। मतदानमा भट्टराईले ३६ मत पाएर विजयी भइन् । मेनुकाले २६ मत पाइन् । अधिवेशनमा छनोट भएका ६७ सदस्य मध्ये ६२ जनाले मतदान गरे भने ५ जना अनुपस्थित रहेका थिए।

यसअघि नै अध्यक्ष बाहेक उपाध्यक्षमा प्रमीला वाइवा र राधा कार्की सचिवमा रमा कार्की उपसचिवमा तुलशा देवकोटा त्यस्तै कोषाध्यक्षमा भद्रा राजण्डारी सर्वसम्मत निर्वाचित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर