बैंकहरूको निक्षेप साढे ९ प्रतिशत र कर्जा ४ प्रतिशतले बढ्यो – Nepal Press

बैंकहरूको निक्षेप साढे ९ प्रतिशत र कर्जा ४ प्रतिशतले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप र प्रवाह गरेको कर्जा दुवै बढेको छ ।

नेपाल राष्ट्र बैंकले पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप ९.४ प्रतिशतले वृद्धि भई ५२ खर्ब ९७ अर्ब ९० करोड रूपैयाँ पुगेको जनाएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ४.० प्रतिशतले वृद्धि भई ४७ खर्ब ५८ अर्ब ४२ करोड पुगेको छ ।

२०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर उच्च रहेकोमा २०७९ असोजबाट निक्षेपको वृद्धिदर अधिक रहँदै आएको केन्द्रिय बैंकले भनेको छ । निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेकै कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको केन्द्रिय बैंकको ठहर छ ।

२०७८ जेठदेखि लगातार दबाबमा रहेको शोधनान्तर स्थिति पनि २०७९ असोजबाट निरन्तर बचतमा छ । शोधनान्तर स्थितिमा सुधार आउन शुरु भएसँगै मौद्रिक तरलतामा विस्तार भएको छ । तरलतामा सुधार आएका कारण अल्पकालीन ब्याजदरहरु घट्न थालेका छन् ।

यसको असर निक्षेप तथा कर्जाको ब्याजदरमा समेत क्रमशः देखिदै जानेछ । अहिले देशको कुल गार्हस्थ उत्पादनभन्दा ठूलो आकारमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप रहेको छ भने जीडीपीकै हाराहारीमा ऋण लगानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *