भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टीमको घोषणा र बिदाइ (भिडिओ) – Nepal Press

भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टीमको घोषणा र बिदाइ (भिडिओ)

काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टीमको घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्त थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टीमको घोषणा गरेका हुन् ।

भारतसँगको मैत्रीपूर्ण खेलका लागि पूर्व कप्तान रेनुका नगरकोटेले चोटपछि पुनरागमन गरेकी छिन् । यस्तै, सबिता राना मगरले एक वर्षपछि, घिमकुमार गुरूङले ११ वर्ष र निर्मला विक ले ७ वर्ष पछि पुनरागमन गरेका छन् ।

फेब्रुअरी १५ र १८ मा भारतमा हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नेपाली महिला फुटबल टीमलाई बिदाइ समेत गरेको छ ।

टीमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारहरूले कार्यक्रमको आयोजना गर्दै बिदाइ गरे ।

बिदाइ कार्यक्रममा सदस्य सचिव घिसिङले जितको शुभकामना दिए । ‘देशमा सबै खेल हेर्नेको जमात जोड्दा पनि फुटबललाई नै माया गर्नेको संख्या धेरै भएकाले दुवै खेल जितेर सबैलाई गौरवान्वित महसुस गराउनु शुभकामना छ’, उनले भने ।

एन्फा उपाध्यक्ष वीर बहादुर खड्काले भारतसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिँदै यो खेल पछि रोकिएको महिला लिग गराउने आश्वासन दिए ।

‘नेपाली महिला फुटबल टिमले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। लगातार खेल नहुँदा उनीहरू भविष्यको चिन्ताले निराश पनि छन् । तर, भारतसँगको मैत्रीपूर्ण खेलपछि हामी रोकिएको महिला लिग गराउने छौँ । धेरै केही हैन खेलेर बाँच्ने वातावरण सृजना गर्ने छौँ,’ उनले भने ।

नेपाली टीम :

एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, घिम कुमारी गुरूङ, अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दीपा शाही, सरू लिम्बु, रेनुका नगरकोटे, सबिता राना मगर, निर्मला बिक, साबित्रा भण्डारी, अमिसा कार्की, रश्मि कुमारी घिसिङ, रेखा पौडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *