पूर्वराजासँग नजिकिएका दुर्गा प्रसाई अब यी एजेन्डासहित महाअभियानमा – Nepal Press

पूर्वराजासँग नजिकिएका दुर्गा प्रसाई अब यी एजेन्डासहित महाअभियानमा

ज्ञानेन्द्र–पारसदेखि प्रचण्ड–ओलीसम्मलाई काँकडभित्तामा निम्ता

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाई यतिबेला ज्यादै चटारोमा छन् । तर, उनको यो चटारो आफ्नो व्यवसायीक साम्राज्य विस्तारसँग सम्वन्धित होइन । हालै आफ्नै नेतृत्वमा घोषणा गरेको महत्वाकांक्षी अद्र्धराजनीतिक अभियानले उनलाई भात खाने पनि फुर्सद नहुने गरी व्यस्त बनाएको हो ।

कुनै समय ‘मार्सी प्रसाई’ भनेर सामाजिक सञ्जालमा दुत्कार खेपेका यी टाइकुनलाई पछिल्ला दिनमा यही सामाजिक सञ्जालले ‘हिरो’ बनाइरहेको छ । युट्यूव च्यानलहरुमा उनका स्वादिला अन्तरवार्ता हेरेर मानिसहरु ‘द्रविभूत’ बनिरहेका छन् । फलतः विगतको नकारात्मक छवि विनिर्माण भएर ‘लोकप्रिय सामाजिक अभियन्ता’ को रुपमा चिनिन थालेका छन् । यही लोकप्रियताको बलमा प्रसाईले ‘महाभियान’ घोषणा गरेका हुन् ।

दुर्गा प्रसाईंको महाअभियान आखिर हो के ? यसलाई राजतन्त्र फर्काउने आन्दोलनको पूर्वाभ्यासका रुपमा बुझेर राजावादीहरु मख्ख छन् । अभियान घोषणाअघि प्रसाईले पूर्वराजा ज्ञानेन्द्र र उनका छोरा पारसलाई तारन्तार भेटेका थिए । आफ्ना अन्तरवार्ताहरुमा उनी गणतान्त्रिक व्यवस्थाप्रति दिक्दारी पोखिरहेका हुन्छन् । त्यसैले उनको महाअभियान गणतन्त्रलाई उल्टाएर राजतन्त्र फर्काउने उद्देश्य प्रेरित हो कि भन्ने अनुमान गरिएको छ ।

तर, प्रसाईको भनाइ भने अलि फरक छ । अहिलेको गणतन्त्रमा आफ्ना हजारौं गुनासो भए पनि भए पनि यो महाभियान राजा फर्काउनका लागि नभएको उनले बताए ।

‘यदि जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिएर राजतन्त्र फर्किदैन भन्ने छैन,’ उनले भने, ‘तर, मेरो अभियान चाहीँ त्यसका लागि होइन ।’

त्यसो भए केका लागि त ?

प्रसाईले लामो पृष्ठभूमि कसेः

यो गणतन्त्रले देशको धर्म–संस्कृति नाश गर्यो । उद्योगधन्दा धराशयी बनायो । एक करोड उर्जाशील युवायुवतीलाई विदेश धकेल्यो । समाजमा विग्रह र विभाजन पैदा गर्यो । आफ्नो व्यवसाय गरेर खाने वातावरण दिएन । गाउँमा मलामी पाउन छोडिएको छ । दैनिक ३० जना नेपालीहरु विदेशबाट बाकसमा आउँछन् । यो ३० वर्षमा देश सर्वत्र उजाडीएको छ ।

नेताहरुलाई ईंगित गर्दै उनी थप्छन्ः

हामीले उनीहरुको कुर्सी खोस्न खोजेका थिएनौं । तिमीहरुको राजनीति तिमीहरु गर, प्रधानमन्त्री–राष्ट्रपति कसले खानुपर्छ खाउ, केवल हामीलाई काम गर्ने वातावरण देउ मात्रै भनेका हौं । त्यो पनि पाएनौं । त्यसको परिणाम ५५ जना व्यापारी र १० जना नेता पार्टनर भएर सर्वत्र हालिमुहाली गरे । बैंक पनि यिनैका हातमा, लघुवित्त पनि यिनैका हातमा, सहकारी–इन्स्योरेन्स, रक्सी, गाडी सबै उनीहरुकै । त्यसले गर्दा मान्छे झुण्डिएर मर्न थाले । लघुवित्तको पैसा तिर्न नसक्दा एउटै रुखमा ३ चेली झुण्डिएर आत्महत्या गरे मेरै गाउँमा । त्यो घटनाले मलाई ज्यादै औडाहा भयो । यही दुखद परिस्थितिको अन्त्य गर्नका लागि हामीले महाअभियान थाल्न लागेका हौं ।

अन्तिममा चुरो कुरा गरे– यो डुब्न लागेको देश र नागरिक बचाउने महाअभियान हो ।

प्रसाईले स्वीकार नगरे पनि पछिल्ला दिनमा उनका अभिव्यक्तिहरुमा पूर्वराजसंस्थाप्रति सदासयता स्पष्ट झल्किन्छ । एक महिनाभित्र चारपटक पूर्वराजालाई भेट्नुले पनि उनी केही पकाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ ।

घुमाइ–घुमाइ सोध्दा उनले यति चाहीँ स्वीकारे– यो देशलाई एउटा मियो चाहिएको छ । भोलि जनताले खुशी भएर राजा राख्छन् भने कसलाई किन टाउको दुखाइ ? हिजो यिनै जनताले गणतन्त्र ल्याएको हो भने भोलि राजतन्त्र फर्काउन पनि सक्छन् ।

प्रसाईको महाअभियानका घोषित उद्देश्य भने तीनवटा छन् । पहिलो संघीयता खारेज गर्नुपर्ने । दोस्रो, धर्मनिरपेक्षताको साटो वैदिक सनातन राज्य बनाउनुपर्ने । र तेस्रो, देशमा गरिखान पाउने व्यवसायीक वातावरण दिनुपर्ने ।

प्रसाईको महाअभियान आगामी १ फागुनमा सुरु हुँदैछ । मेचीको पुलमा गुरुहरुको हातबाट नौमुखे दियो बालेर अभियानको उद्घाटन गर्ने उनको तयारी छ । उक्त कार्यक्रमलाई भव्य बनाउनका लागि सबै प्रयास लगाइरहेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसलाई सो कार्यक्रममा सहभागी हुन निम्ता दिएका छन् । पूर्वराजा सहभागी हुनेमा आफू विश्वस्त रहेको प्रसाईले बताए । यस्तै, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका छन् । उनको निम्ता मानेर यी नेताहरु आए भने पूर्वराजासँग आमनेसामने हुन सक्छन् ।

प्रसाई गणतन्त्रसँग खुश छैनन्, तर राजसंस्था चाहिन्छ भनेर पनि खुलेर भन्न सकिरहेका छैनन् । केले उनलाई राजसंस्थाको पक्षमा खुल्न रोकिरहेको छ त ? हुन सक्छ एमालेसँगको आवद्धता । अहिले पनि उनी आफू एमालेमै रहेको बताउँछन् ।

‘मैले एमाले छाडेको छैन, बरु एमालेलाई पनि मेरो विचारमा ल्याउन प्रयास गरिरहेको छु,’ प्रसाईले भने ।

आफूले हजुरबा (एमाले अध्यक्ष केपी शर्मा ओली) लाई पनि कम्तिमा चारपटक भेटेर धर्मनिरपेक्षता र संघीयता उल्टाउनका निम्ति पहल गर्न आग्रह गरेको प्रसाई बताउँछन् । ओलीले के जवाफ दिए त ?

‘केही नबोलि फिस्स हाँस्नुहुन्छ,’ उनले भने ।

उनलाई ढिलो–चाँडो एमाले आफ्नो लाइनमा आउला भन्ने आशा छ । नत्र बालै फरर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर