घुस माग्ने जीएमलाई निलम्बनपछि मन्त्री किराँतीले भने- अब अन्य प्रकरण पनि खुल्दै जान्छन् (भिडिओ) – Nepal Press

घुस माग्ने जीएमलाई निलम्बनपछि मन्त्री किराँतीले भने- अब अन्य प्रकरण पनि खुल्दै जान्छन् (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस मागेपछि ठाकुरलाई कारबाही गरेको जानकारी गराए ।

आफूले कसैको पनि एकपैसा नखाने भन्दै उनले यस्ता अन्य घुस प्रकरणहरू खुल्दै जाने र कारबाही गर्ने चेतावनी दिए । घुस मागेको अडिओ प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो ।

‘मैले कहिले पैसा मागेँ भन्ने खुल्नुपर्‍यो र पैसा मागेको पाइए मलाई पनि कारबाही हुनुपर्छ’, मन्त्री किराँतीले भने ।

२० लाख पर्यटक भित्र्याउनेगरी कार्ययोजना ल्याउन उनले पर्यटन बोर्डलाई निर्देशन दिए । पर्यटन प्रबर्द्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उनले बताए ।

‘कर्मचारीलाई हेरफेर गरेर आतंकित मच्चाउने पक्षमा म छैन । तर, कर्मचारको साथ र काम भने मलाई चाहिन्छ’, मन्त्री किराँतीले थपे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *