बैंकदर घट्यो, कर्जाको लागत कम पर्ने – Nepal Press

बैंकदर घट्यो, कर्जाको लागत कम पर्ने

काठमाडौ । बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा राष्ट्र बैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा अब ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने भएको छ ।

राष्ट बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नीतिगत दरमा दिने व्यवस्था गरिएको बताए । बैंकहरूले लिने कर्जाको ब्याजदर घटेपछि सर्वसाधारणले लिने कर्जाको ब्याजदर घट्न मद्दत गर्ने उनको भनाइ छ । सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रूपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएका लक्ष्य तथा प्रक्षेपणहरूलाई यथावत राखिएको छ । ब्याजदर करिडोर प्रभावकारी हुने र भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने गरी तरलता व्यवस्थापन गरिने केन्द्रिय बैंकले भनेको छ ।

सजगतापूर्वक कसिलो नीतिगत कार्यदिशा लिइएका कारण शोधनान्तर स्थितिमा क्रमशः सुधार आई २०७९ असोजदेखि बचतमा रहेको छ । तथापि, केही वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्ध र प्रतीतपत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनसम्बन्धी व्यवस्था पूर्णरूपले हटाइएकोले आयात पुनः बढ्न गई बाह्य क्षेत्रमा दबाब पर्न सक्ने भन्दै केन्द्रीय बैंकले चालू वर्षको मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई यथावत राखेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *