बैंकले कर्जा नतिर्ने ऋणीको फोटो राखेर सूचना निकाल्न नपाउने – Nepal Press

बैंकले कर्जा नतिर्ने ऋणीको फोटो राखेर सूचना निकाल्न नपाउने

काठमाडौं । अबदेखि कुनै पनि बैंकले सार्वजनिक सूचनामा प्राकृतिक व्यक्तिको तस्बिर प्रकाशन गर्न नपाउने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । वित्तीय संस्थाले कर्जा बुझाउन नआउने ऋणीको तस्बिरसहित राखेर ऋण तिर्न आउन वा लिलामीको सूचना प्रकाशित गर्दै आएका थिए । बैंक ताथा वित्तीय संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा रहे-नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्थाअनुसार, कालोसूचीमा रहेको व्यक्तिले कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता खोल्न पाउने छैनन् । यता बैंकले ब्याजदर प्रकाशन गर्दा ग्राहकमा कुनै किसिमको भ्रम सिर्जना नहुने गरी अनिवार्य रूपमा वार्षिक ब्याजदर प्रतिशत प्रकाशित गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले ६ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न नमिल्ने व्यवस्था पनि गरिएको छ । व्यक्तिगतको तीन महिनालाई भने यथावत राखिएको छ । संस्थागत मुद्दती ६ महिनाअघि प्रि-म्याचुअर्ड पनि गर्न पाइने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *