मध्यक्रमका भरपर्दा आरिफ किन राष्ट्रिय टोलीबाट बाहिर भए ? – Nepal Press

मध्यक्रमका भरपर्दा आरिफ किन राष्ट्रिय टोलीबाट बाहिर भए ?

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा चार दिनपछि सुरु हुने त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि बिहीबार साँझ नेपाली टोलीको घोषणा हुँदा आरिफ शेख टोलीमा अटाउन सकेनन्।

बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीमध्येबाट १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा हुँदा अन्तर्राष्ट्रिय क्रिकेटमा मध्यक्रमबाट स्थिर प्रदर्शन गरिरहेका ब्याटिङ अलराउन्डर आरिफ समावेश भएका छैनन्। उनलाई चार सदस्यीय रिजर्भ टोलीमा राखिएको छ।

माथिल्लोक्रम पतन हुँदा पनि पाली सम्हाल्न सक्ने खेलाडीका रुपमा आरिफको पहिचान रहेको छ। उनी सम्हालिएर खेल्न सक्ने ब्याट्सम्यान हुन्।स्रोतका अनुसार आरिफ स्वास्थ्यका कारणले राष्ट्रिय टोलीमा अटाउन नसकेका हुन्।

राष्ट्रिय टिम छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले स्वास्थ्यको इस्यु नै प्रमुख कारण भएको बताए। ‘उसलाई सन्चो छैन, ज्वरो र घाँटी दुखिरहेको छ। युरिनमा पनि समस्या छ’, चौधरीले भने, ‘लगातार खेल खेल्नु पर्ने भएकाले हामीले रिस्क लिन नचाहेको हो’ उनले भने।

२६ वर्षीय आरिफले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३२ खेलका २८ पाली खेल्दै ४ अर्धसतकको मदतमा ५ सय ८२ रन बनाएका छन्। यस्तै ३१ टी(२० अन्तर्राष्ट्रिय खेलमा उनले २५ पाली खेल्दै ४ सय ५ रन बनाएका छन्।

भर्खरै सम्पन्न नेपाल टी-२० लिगमा भने उनको प्रदर्शन राम्रो रहन सकेको थिएन। उनले ८ खेलमा केवल ५४ रन मात्र बनाएका थिए भने दुई खेलमा खाता खोल्न सकेका थिएनन्। आरिफले सन् २०२२ मा मात्र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २० खेल खेल्दै ४ सय ४३ रन बनाएका थिए। त्यसमा चारवटा अर्धसतक पनि समावेश छन्।

सन् २०२२ आरिफका लागि विशेष रहेको थियो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि चौथो, पाचौँ र छैटौँ विकेटका लागि राष्ट्रिय कीर्तिमानसहितको साझेदारी आरिफको नाममा छ। उनले सन् २०२२ को मार्चमा पीएनजीविरुद्ध चौथो विकेटका लागि रोहित पौडेलसँग ७७ र सोही महिना पीएनजीविरुद्ध नै पाचौँ विकेटका लागि एक सय ४ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी पनि पौडेलसँग नै थियो।

यस्तै उनले तीन महिनापछि अमेरिकाविरुद्ध छैटौँ विकेटका लागि एक सय ६ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी सोमपाल कामीसँग रहेको थियो। आरिफका भाई आसिफ भने आसन्न शृंखलाका लागि नेपाली टोलीमा समावेश भएका छन्।

आसिफले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २३ खेल खेल्दै ५ अर्धसतकसहित ६ सय ५५ रन बनाएका छन्। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २० खेल खेल्दै २ अर्धसतकसहित ४ सय ६८ रन जोडेका छन्। आसिफ विकेटकिपर ब्याट्सम्यान हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर