नक्कली शैक्षिक प्रमाणपत्रमा तत्कालीन न्यायाधीश उपाध्याय दोषी ठहर – Nepal Press

नक्कली शैक्षिक प्रमाणपत्रमा तत्कालीन न्यायाधीश उपाध्याय दोषी ठहर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रमा तत्कालीन न्यायाधीश ओमकार उपाध्याय दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार उपाध्यायलाई दोषी ठहर गर्दै ३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उपाध्यायलाई दोषी ठहर गरेको हो ।

उनीविरुद्ध २०७६ जेठ १९ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । तनहुँ जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र दफा २९ (२) अनुसार सजाय भएको बताए । दफा १२ झूटा शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेमा २ वर्षदेखि ६ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यस्तै दफा दफा २९ (२) मा ५ हजार रुपैयाँभन्दा बढी जरिवाना गर्न नमिल्ने उल्लेख छ । उपाध्यायलाई जरिवानामात्र गरिएको हो ।

न्याय परिषद्ले उपाध्यायविरुद्ध मुद्दा दर्ता गरेको थियो । भारतको कानपुर विश्वविद्यालयबाट उपाध्यायले प्राप्त गरेको भनिएको स्नातक उत्तीर्णको प्रमाणपत्र नक्कली भएको परिषद्को दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *