साफ महिला फुटबल: भारतको दबदबा तोडेको बंगलादेशसँग ‘भोको’ नेपाललाई बदला लिने मौका – Nepal Press

साफ महिला फुटबल: भारतको दबदबा तोडेको बंगलादेशसँग ‘भोको’ नेपाललाई बदला लिने मौका

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बिहीबार साँझ घरेलु टोलीसँग खेल्दैछ ।

यो खेल जिते नेपाली महिला फुटबल टोलीले दक्षिण एसियाली फुटबल प्रतियोगितामा उपाधि खडेरी टार्नेछ । यसअघि नेपालले कुनै पनि स्तरको साफ महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्न सकेको छैन ।

फाइनलमा पुग्ने नेपाल लामो समय भारतसँग निराश हुँदै आएको छ । पछिल्लो समय नयाँ शक्तिका रुपमा उदाएको बंगलादेश पनि नेपाललाई चुनौती बनिरहेको छ ।

जारी प्रतियोगितामा नेपालले सुखद सुरुवात गर्न सकेको थिएन । पहिलो खेलमै घरेलु टोलीसँग ३-१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४-० गोलले हराएको नेपाल तेस्रो तथा अन्तिम खेलमा भारतलाई ३-१ गोलले हराएर फाइनलमा पुग्न सफल भएको हो ।

बंगलादेशले दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा भुटानलाई ५-० गोलले पराजित गरेको थियो ।

साफ महिला फुटबलको उमेरस्तरमा यसअघि यू-१८ च्याम्पियनसिप दुईपटक र यू-१९ च्याम्पियनसिप एकपटक भएको छ । यू-२० च्याम्पियनसिप भने पहिलोपटक आयोजना भएको हो ।

सन् २०१८ मा भएको साफ यू-१८ महिला च्याम्पियनसिपमा ६ टोली सहभागी भएकामा नेपाल भारतलाई सेमिफाइनलमा टाइब्रेकरमा हराएर फाइनलसम्म पुगेको थियो । तर, उपाधि भिडन्तमा बंगलादेशले नेपाललाई १-० गोलले हराएको थियो ।

सन् २०२१ मा आयोजित साफ यू-१९ च्याम्पियनसिपमा ५ टोली सहभागी थिए । जसमा नेपाल फाइनल पुग्न सकेन । उपाधि भिडन्तमा भारतलाई १-० गोलले हराएर बंगलादेश लगातार दोस्रोपटक साफ महिला फुटबलको उमेरस्तरको प्रतियोगिता विजेता बनेको थियो ।

गत वर्ष आयोजना भएको साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल सबै खेलमा पराजित भएर पहिलो चरणबाट बाहिरिएको थियो । तीन टोली सहभागी उक्त च्याम्पियनसिपमा भारत शीर्षस्थानमा रहेर विजेता बनेको थियो ।

नेपाली महिला टोली सिनियर साफ च्याम्पियनसिपका हालसम्म भएका ६ संस्करणमध्ये पाँचवटामा फाइनलसम्म पुगेर पराजित भएको थियो । सन् २०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो । अघिल्ला पाँचवटै संस्करण जितेको भारत गत वर्ष भएको प्रतियोगितामा फाइनल पुग्न सकेन । नेपालका लागि अवसर मानिए पनि उपाधि भिडन्तमा बंगलादेशसँग निराश बनेको थियो ।

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबलमा पनि नेपाली टोली हालसम्म भएका तीनवटै संस्करणमा फाइनलसम्म पुगेर पराजित भएको छ । ती तीनवटैमा भारतले नेपाललाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर