५० लाख युवालाई स्वदेशमै फर्काउने योजना बन्दैछ: उद्योगमन्त्री भण्डारी – Nepal Press

५० लाख युवालाई स्वदेशमै फर्काउने योजना बन्दैछ: उद्योगमन्त्री भण्डारी

कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुक बाहिर रहेका ५० लाख युवाहरूलाई स्वदेशमै फर्काउने वातावरण सरकारले बनाइरहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री भण्डारीले सरकारले रोजगारी सृजना गर्ने र मुलुक बाहिरका ५० लाख युवाहरूलाई नेपाल फर्काउने योजना रहेको बताए ।

‘व्यापार घाटा बढिरहेको छ । ५० लाख दक्ष जनशक्ति विदेश छन् । उनीहरूलाई फर्काउनु छ’, मन्त्री भण्डारीले भने, ‘सरकार त्यसमा लागिपर्छ ।’

सुदूरपश्चिममा अपेक्षाकृत औद्योगिक विकास हुन नसकेकोमा मन्त्री भण्डारीले भने, ‘यहाँका समस्याहरू हल गर्ने कुरामा प्रतिबद्ध छौं ।’

फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोधारा चाँदनीको सुख्खा बन्दरगाहको अवलोकन गर्ने र निर्माणमा लाग्न निर्देशन दिने कार्यक्रम छ ।

भारतीय पक्षले पनि सुख्खा बन्दरगाह निर्माणमा चासो दिएको मन्त्री भण्डारीले जानकारी दिए । सुख्खा बन्दरगाह निर्माणपछि आयात र निर्यातमा सहज हुने उनको भनाइ छ । उनका अनुसार ३ वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

चाँडै भारतसँग व्यापार पारवहन सम्झौता गर्ने र विदेशी लगानी नेपालमा भित्र्याउने गरी सरकारले नीति बनाउने उनले सुनाए ।

‘मेड इन नेपालको अभियान सुरु गर्दैछौं । औद्योगिक नीति संशोधन गरेर अघि बढाउँछौं’, मन्त्री भण्डारीले थपे, ‘नयाँ आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रको विकासमा केही नयाँ अनुभूति पाउनुहुन्छ ।’

स्वागत तथा भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठक, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलगायतले औद्योगिक विकास गर्न सहज हुने नीति ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *