क्यानले छान्यो सन्दीपसहित १६ जनाको अन्तिम स्क्वाड, नेपालको सुरक्षा विश्लेषण गर्दै आईसीसी – Nepal Press

क्यानले छान्यो सन्दीपसहित १६ जनाको अन्तिम स्क्वाड, नेपालको सुरक्षा विश्लेषण गर्दै आईसीसी

नेपालमा विरोध प्रदर्शन भए प्रतियोगिता नै रद्द हुने खतरा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि अन्तिम स्क्वाडको छनोट गरेको छ । सन्दीप लामिछानेसहित १६ खेलाडीहरूको सूची अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पठाइएको क्यान स्रोतले बतायो ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ क्वालिफायर्स अन्तर्गत नेपालले आउँदो २ फागुनदेखि स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिजका लागि हाल २० जना खेलाडी बन्द प्रशिक्षणमा छन् । उनीहरूमध्येबाट १६ खेलाडीलाई अन्तिम स्क्वाडमा समावेश गरिएको हो । यस्तै, २ खेलाडी रिजर्भमा राखिएका छन् भने अन्य २ जना बाहिरिएका छन् ।

क्यानले अन्तिम स्क्वाडको नाम दर्ताका लागि आईसीसीमा पठाएको हो । क्यान स्रोतका अनुसार आईसीसीको सुरक्षासम्बन्धी कमिटीले सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइएपछि नेपालमा उत्पन्न भएको माहोलबारे अध्ययन तथा परामर्श गरिरहेको छ । अन्तिम टोलीमा सन्दीपलाई राख्दा वा नराख्दा दुवै अवस्थामा सडक प्रदर्शन हुनसक्ने आईसीसीको चिन्ता छ । टीममा राख्दा महिलावादीहरू र नराख्दा क्रिकेट समर्थकहरू सडकमा आउनसक्ने विश्लेषण आईसीसीले गरेको हो ।

आईसीसीसँग संवादमा रहेको क्यान स्रोतले भन्यो, ‘आईसीसीले सन्दीपलाई लिएर नेपालको सोसल मिडिया ट्रेन्ड हेरिरहेको छ । सन्दीपको विरोधमा भन्दा समर्थनमा उभिनेहरू धेरै छन् भन्ने उसले बुझेको छ । सन्दीपलाई टीममा नराख्दा झन् ठूलो प्रदर्शन हुन सक्छ भन्ने उसले विश्लेषण गरेको छ ।’

यदि स्थिति सामान्य रहेको भए सन्दीपसहितको टीमलाई तत्कालै आईसीसीले स्वीकृति दिनसक्ने थियो । तर, अहिलेको माहोलले गर्दा प्रतियोगिता नै रद्द हुन सक्ने खतरासमेत पैदा भएको क्यान स्रोत बताउँछ ।

‘नेपालीहरूले सोसल मिडियामार्फत आईसीसीलाई ट्याग गर्दै सन्दीपको पक्ष र विपक्षमा विभिन्न कुराहरू लेखिरहेका छन् । यसले गर्दा आईसीसीले पनि यहाँ अहिले प्रतियोगिता गराउँदा उत्पन्न हुनसक्ने सम्भावित परिस्थितिलाई गम्भीर विश्लेषण गरिरहेको छ,’ स्रोतले भन्यो, ‘यदि नेपालमा हिंसा उत्पन्न हुन सक्ने निष्कर्ष निकाल्यो भने यो प्रतियोगिता स्थगित वा रद्द गर्न सक्छ ।’

अन्तर्राष्ट्रिय अभ्यासअनुसार अदालतमा मुद्दा दायर भएको खेलाडी यदि धरौटीमा छुटेको अवस्थामा राष्ट्रिय टीमबाट खेल्न सक्छन् । यही आधारमा आईसीसीले क्यानलाई यदि नेपालको कानूनले नरोक्ने भए सन्दीपलाई खेलाउनसक्ने गरी अनुमति दिएको थियो । तर, पछिल्लो माहोलले गर्दा आईसीसीले थप छलफल आवश्यक ठानेको हो ।

यदि आईसीसीले तत्काल स्वीकृति दिएमा भोलि वा पर्सिमा अन्तिम स्क्वाड सार्वजनिक गर्ने क्यानको तयारी छ । स्वीकृत भएर आएको स्क्वाडमा पनि एकाध खेलाडीहरू पनि क्यानले तलमाथि गर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर