तीन दिनपछि सारियो लुम्बिनीमा मोरारी बाबुको रामकथा कार्यक्रम – Nepal Press

तीन दिनपछि सारियो लुम्बिनीमा मोरारी बाबुको रामकथा कार्यक्रम

रूपन्देही । लुम्बिनीमा शनिबारदेखि हुने भनिएको राम कथा प्रवचन कार्यक्रम अन्तिम समयमा ३ दिनपछि सारिएको छ । आयोजक राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मंगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ ।

यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन माघ २४ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । कथा आयोजक समितिले संचालन गर्ने भण्डारा भने पूर्ववत रुपमा २१ गते शनिबारबाट नै सञ्चालमा आउने बताएको छ ।

९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औं राम कथा आयोजना हुन लागेको हो ।

‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् ।अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ ।

नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाण्डौं र भुसुण्डी सरोवर ९तिलिचो ताल० मा समेत राम कथा बाचन भइसकेको छ ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए ।

यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्तित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि बिकास केडियाले जानकारी दिए ।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाउँहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणलाई निमन्त्रणा गरिएको र यसबाट लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

One thought on “तीन दिनपछि सारियो लुम्बिनीमा मोरारी बाबुको रामकथा कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *