माघ २१ र २२ गते बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने – Nepal Press

माघ २१ र २२ गते बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने

रुपन्देही । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदानप्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए ।

‘यही मिति २०७९ माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहनेछ’, उनले भने, ‘जसमा उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकता जस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिनेछ ।’

करिब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उनले बताए । सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुनेछ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताइन् । उनले स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताइन् ।

राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको र सहभागी हुने उपमहानगरपालिका र अन्य प्रतिनिधिहरुलाई पत्राचार गरिसकिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर