७ महिनामै ‘टुहुरो’ बन्यो रास्वपा, पार्टीभित्र सन्नाटा – Nepal Press

७ महिनामै ‘टुहुरो’ बन्यो रास्वपा, पार्टीभित्र सन्नाटा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका छन् । उनी स्वयंले आफू रास्वपाको सभापति अब नरहेको बताए ।

आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारले उनलाई रास्वपाको सभापतिको हैसियतमा प्रतिक्रिया मागेका थिए । जवाफमा रविले आफू पार्टीको सभापति नरहेको बताए ।

उनले भने, ‘म अध्यक्ष रहिनँ सर । म छैन । म केही पनि होइन । म कहींको पनि होइन यतिवेला । एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’

सर्वोच्च अदालतले रविसँग भएको नेपाली नागरिकतालाई अमान्य ठहर गर्दै उनको सांसद पद नरहने फैसला सुनाएको छ । फैसलामा उनको पार्टीगत हैसियतका विषयमा कुनै टिप्पणी गरिएको छैन । तर, पार्टीको सभापति बन्न नेपाली नागरिक हुनैपर्ने प्रावधान भएकाले रवि त्यस निम्ति अयोग्य बनेका हुन् । उनले चाँडै नेपाली नागरिकता पुनः प्राप्ति गरेर पार्टीको कमाण्ड फेरि सम्हाल्न सक्नेछन् ।

अहिलेलाई रास्वपा नेतृत्वविहीन बनेको छ । पार्टीका नेताहरु स्तब्ध अवस्थामा छन् । कोही पनि फोन सम्पर्कमा आउन चाहिरहेका छैनन् ।

रविले सभापति पद पनि गुमाएकाले पार्टीको बैठक बोलाइएको छैन । रास्वपामा रविको एकल कमाण्डजस्तै थियो । उनको अनुपस्थितिमा पार्टी टुहुरो जस्तो बनेको छ । अहिले पार्टी नेताहरु आपसी छलफलमा छन् । तर, औपचारिक बैठक डाकिएको छैन ।

रास्वपामा सेकेन्ड म्यानका रुपमा डोलप्रसाद अर्याल छन् । हाल श्रममन्त्रीसमेत रहेका अर्याल पार्टीका उपसभापति हुन् । यसैगरी महामन्त्रीमा डा. मुकुल ढकाल छन् । पार्टीको २१ सदस्यीय केन्द्रीय समिति छ । प्रायः युवा नेताहरु छन् ।

पार्टीले अब नयाँ सभापतिको चयन गर्नुपर्नेछ, कम्तिमा रविले नेपाली नागरिकताको पुनः प्राप्ति नगरुञ्जेल । त्यसो त कुनै अर्को जटिलता नआए उनलाई नयाँ नागरिकता प्राप्त गर्न खासै कठिनाइ छैन । तर, आज पत्रकारले उनलाई नयाँ नागरिकताको प्रक्रियामा जाने विषयमा प्रश्न सोध्दा रविले कुनै जवाफ दिन चाहेनन् ।

‘अहिले मसित कुनै जवाफ छैन’, उनले भने ।

रविको नागरिकतासँगै पासपोर्टको विषय पनि विवादित छ । विदेशी नागरिकता छँदाछँदै नेपाली पासपोर्ट लिएको विषय पनि प्रहरी अनुसन्धानमा रहेकाले रविको अर्को नागरिकता लिँदैमा रविको संकटमोचन नहुन सक्छ ।

प्रतिक्रिया

2 thoughts on “७ महिनामै ‘टुहुरो’ बन्यो रास्वपा, पार्टीभित्र सन्नाटा

  1. अति भए खति हुन्छ, न्यायलयका न्यायमुर्तिप्रति उच्च सम्मान 🙏🙏🙏
    अदालतप्रति जनबिश्वास

  2. किन टुहुरो ? प्रक्रिया अलिकति नमिलेको होला नागरिकता लिन । अमेरिकाको छोडेपछि यहाँको किन नपाउने ? उता छोडेको निस्सा दिएर खुरूक्क नागरिकता लिएर पार्टीको अध्यक्ष बनिहाल । कुनै पनि ठाउँमा चुनाव गरे उठेर जितेर फेरि गृहमनत्री बन । तिमिले धेरै काम गर्नुछ । एउटा काममा पछि पर्दैमा छोडन हुँदैन । यहाँ एक महिनामा नै लुटेराहरूको छटपटी चलिरहेको थियो । लुटेरा, देश बेचुवाहरूले अदालत प्रयोग गरेर यो नौटंकी निर्णय गराएका हुन् । पद बढाउन दुईवटा नागरिकता पेश गर्ने सर्वोच्चका न्यायाधिश हुन् । भारतीय नागरिकता भएका नेता काँग्रेस र एसमा अझै छन् । माधव नेपालको पार्टी विरूद्वको फैसला आजसम्म गर्दैन यो अदालत । वालुवाटारको जग्गाको मुद्दा कहाँ पुग्यो ? यो देशको अदालतका न्यायाधिशहरू विदेशीका गुलाम भए । न्यायालयमा नियन्त्रण आवश्यक देखियो । कानून संशोधन गरेर विकाउ न्यायाधिशलाई टुडिखेलमा चारवाटा मुडने कानून बनाउनु अति आवश्यक देखियो अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर