व्यवसायीहरु ‘आत्मदाह’ गर्न किन विवश छन् ? – Nepal Press

व्यवसायीहरु ‘आत्मदाह’ गर्न किन विवश छन् ?

काठमाडौं । २०७७ भदौमा भक्तपुरको मध्यपुर थिमिका किराना व्यवसायी सुदीप अधिकारी परिवारसहित घरमै मृत भेटिए । बैंकको ऋण लिएर व्यवसाय सञ्चालन गरेका अधिकारी मानसिक तनावमा रहेको प्रहरीले अनुसन्धान गर्दै जाँदा पत्ता लगायो । उनले ऋण लिएर व्यवसाय सञ्चालन गरेका थिए । कोरोना महामारीका कारण व्यवसायले गति लिन सकेन र लिएको ऋण तिर्न नसक्ने देखेपछि उनले आत्महत्याको बाटो रोजेको दाबी गरिएको थियो ।

न्युरोड रञ्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले पनि गत भदौमा आत्महत्याको बाटो रोजे । ऋणको ब्याज तिर्न बैंकले पटक-पटक ताकेता गर्दै दबाव दिएपछि उनले आत्महत्याको बाटो रोजेको रञ्जनाकै व्यवसायीले त्यतिवेला पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।

मंगलबारमात्रै पनि एक व्यवसायीले संसद भवन अगाडि प्रधानमन्त्रीले देख्ने गरी नै पेट्रोल खन्याएर आत्मदाह गरे । आत्मदाह गर्ने इलाम फिक्कलका प्रेमप्रसाद आचार्यको ठमेलमा ट्राभल एजेन्सी र कृषिजन्य वयवसाय थियो । आफ्नो व्यापारमा घाटा भएको र तिर्नै नसक्ने गरी ऋण लागेको उनको सुसाइड नोटबाट खुलेको छ ।

यी त ऋणले थिचिएर आत्महत्याको बाटो रोज्ने व्यवसायीहरुको प्रतिनिधि उदाहरणमात्र हो । यी प्रतिनिधि उदाहरणका व्यवसायी सबै बैंकको ऋणमा डुबेको देखिन्छ । यस्ता घटनाहरु कति नदेखिएका र कति नसुनिएका पनि छन् ।

व्यवसायमा घाटा भएर आत्महत्याको बाटो रोज्ने तथा व्यवसायबाटै पलायन भएकाहरुको एकिन तथ्यांक व्यवसायीहरुकै हकहितमा पैरवी गर्ने छाता संगठनहरुसँग छैन ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल धेरै व्यवसायीहरु बैंकको ऋणका कारण तनावमा भएको बताउँछन् । केहीले ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् भने केही पलायनसमेत भएको उनले सुनाए ।

सरकारले संकुचित नीति लिएकै कारण धेरै ठाउँमा उद्यमी व्यवसायी अप्ठेरो अवस्थामा रहेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले नेपालमा चाहिनेभन्दा बढी नियमन हुँदा व्यवसायीहरुमा बढी वितृष्णा देखिएको बताए । उनले भने, ‘सरकारले डिजिटल भन्छ । तर, त्यही क्लिक गर्न पनि उसलाई फुर्सद छैन । काम गर्नेहरुलाई आफ्नो बल र बुद्धि लगाएर गरिखान दिनुपर्छ । ताकि बाँकी व्यवसायी हतोत्साही हुने, आत्मदाह गर्ने अवस्था नआओस् ।’

व्यवसायीहरुले कोरोनाका कारण शिथिल बनेको अर्थतन्त्र, रुस-युक्रेन युद्धले खल्बल्याएको आर्थिक गतिविधिको चेन र सरकारको संकुचित नीतिकै कारण उद्योगी व्यवसायीले ऋण तिर्न सक्ने क्षमता गुमाएको बताउँदै आएका छन् ।

उद्योगी व्यवसायीहरु बैंकको बढ्दो ब्याजदरको विरोधमा सडकमै उत्रिएका थिए । उद्योगीहरुले बैंकको उच्च ब्याजदरका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको बताउँदै आएका छन् । उनीहरुले ऋणको भार थेग्न नसक्ने भन्दै सरकारलाई तालाचाबी नै बुझाउनेसमेत भन्दै आएका छन् ।

मुलुकमा जुनसुकै सरकार आए पनि व्यवसायीहरूको मनोबल उच्च राख्न आवश्यक रहेको उनीहरुको भनाइ छ । पछिल्लो समय उनीहरुको मनोबल कमजोर हुँदै आएको व्यवसायीहरुको अभिव्यक्तिबाटै थाहा हुन्छ ।

किन गर्छन् आत्महत्या ?

मनोविद् गोपाल ढकालले मानिसले आश भन्ने केही बाँकी नभएपछि आत्महत्याको बाटो रोज्ने बताउँछन् । विशेषगरी डिप्रेसनमा गएको मानिसले योजनाबद्ध रुपले आत्महत्या गर्ने उनको तर्क छ ।

आत्महत्या गर्ने ८० प्रतिशत जति डिप्रेसनकै कारणले हुने गरेको उनको भनाइ छ । अर्को क्षणिक आवेगमा आएर आत्महत्या गर्नेमा भने डिप्रेसनको लक्षण नदेखिने ढकालको भनाइ छ । उनी भन्छन, ‘मान्छेको शारीरिकभन्दा कैयौं गुणा ठूलो हुन्छ मनको पीडा अर्थात मानसिक पीडा । त्यसकारण यसको वैलेमा परामर्श तथा उपचार नपाए आत्महत्याकै बाटोमा पुग्छ ।’

आफ्ना समस्या खुलस्त भन्न नसक्ने वा भने पनि कतैबाट सुनुवाइ नहुँदा मानिस डिप्रेसनमा पुग्छ र उसलाई दलदलमा फसेजस्तो हुन्छ । कतैबाट सहयोग नपाउने देखेपछि उसको लागि जिन्दगी जिउनुको सबै बाटो बन्द भई आत्महत्याको तहमा पुग्ने मनोविद् ढकालको भनाइ छ ।

तर, प्रेमप्रसाद आचार्यको केसमा उनले सबै खुलस्त भनेकाले उनको आत्महत्या नभई राज्यद्वारा हत्या भएको भन्दै आम सर्वसाधारणमा बहस सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *