ठूला व्यवसायीहरुको चेतावनी- बैंकले साह्रै दुःख दियो, अब पीपीपी मोडलबाट लगानी विस्तार गर्छौं – Nepal Press

ठूला व्यवसायीहरुको चेतावनी- बैंकले साह्रै दुःख दियो, अब पीपीपी मोडलबाट लगानी विस्तार गर्छौं

काठमाडौं । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि भएको भन्दै सबैले चिन्ता व्यक्त गरेका छन् । माघ महिनामा निक्षेपको १.१३ प्रतिशतले ब्याजदर घटेको थियो । कर्जा भने करिब १८ प्रतिशतसम्म रहेको छ ।

निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्छ, विस्तारै घट्दै जान्छ भन्ने हो । तर, पुस मसान्तसम्मको तथ्यांकले आधारदर वृद्धि भएको देखिन्छ । बैंकको आधारदर १.९९ देखि ३.५३ प्रतिशतसम्म बढेको छ । यही अवस्था रहने हो भने कर्जाको ब्याजदर वृद्धि हुने अवस्था सिर्जना हुन्छ ।

पैसा थुप्रिँदा बैंकले नै उद्योगी व्यवसायी भेटेर छलफल गर्ने गरेको थियो । तर, अहिले उद्योग व्यवसाय समस्यामा परेको वेला उल्टै उद्योगी व्यवसायीले बैंकसँग छलफल गर्न खोज्दा बैंकले समय नै नदिएको उद्योगी व्यवसायीहरुको गुनासो छ ।

त्यसैले आफूहरुलाई साह्रै दुःख दिने बैंकहरुको ज्यादती रोक्न सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलबाट जनताको लगानीमा उद्योग व्यवसाय विस्तार गर्ने तयारीमा आफूहरु लागिपरेको उनीहरुको भनाइ छ ।

नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायीले दुःख पाएका वेला बैंकले उल्टै पेल्दै आएको दुःखेसो पोखे ।

‘सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा लगानी विस्तार गर्ने योजना बनाएका छौं । बैंकले तरलता अभाव रहेको वेला व्यवसायीलाई धेरै दुःख दियो’, उनले भने, ‘अब जनताको लगानीबाट नै व्यवसाय सुरु गर्ने हो भने बैंकमा गएर ऋण लिनु पर्दैन ।’

तर, पीपीपी मोडलमा लगानी गर्दा त्यो लगानीको अधिकार भने निजी क्षेत्रलाई दिनुपर्ने उनको माग छ ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले पनि बैंकबाट ऋण लिएर व्यवसाय गर्न अहिले असजिलो अवस्था आएको बताए ।

‘सार्वजनिक-निजी साझेदारी मोडलमा नै लगानी गर्नुपर्ने अवस्था आएको छ । अहिले बैंकले प्रिमियम पनि धेरै लिइरहेको छ । २ प्रतिशत हुनुपर्नेमा ६ प्रतिशत भएकाले गाह्रो भएको छ । अहिले लगानी गर्दा ६० देखि ८० प्रतिशतसम्म बैंकबाट ऋण लिएर लगानी भइरहेको छ’, उनले भने, ‘अब भने सर्वसाधारणको लगानीमा सार्वजनिक-निजी साझेदारी मोडलमा काम गर्ने अवस्था आएको छ । अब त्यहीअनुसार नै काम अगाडि बढाउने हो ।’

अहिले ठूला कम्पनीहरु केही व्यक्ति वा परिवारका सदस्यहरुले मात्रै सञ्चालन गरिरहेको अध्यक्ष मल्लले बताए । बैंकले सहज भएका वेला सजिलै कर्जा दिने तर केही समस्या आयो भने व्यवसायीलाई नै पेल्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

उद्योगी व्यवसायीहरुका अनुसार बैंकबाट ऋण लिँदा पूरा गर्नुपर्ने प्रक्रिया धेरै लामो र झन्झटिलो छ । ‘मिल्ने मात्रै भए बैंकले दुइटा खुट्टोको पनि ल्याप्चे लिन्थे होला’, एक उद्योगीले भने, ‘एउटा बैंकमा कारोबार छ । तर, अर्काे बैंकमा ऋण लिनुपर्ने अवस्था आयो भने सम्झिनुस् अब झन्झटको चाङ आयो । एउटा बैंकको ऋण लिने प्रक्रिया अर्काे बैंकसँग मिल्दैन ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समेत एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘व्यवसायीलाई बैंकले यसरी नै समस्यामा पार्दै जाने हो भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

पछिल्लो समय बैंकको ऋण तिर्न नसकेपछि व्यवसायीहरु आत्महत्या गर्न बाध्य भइरेहका छन् । ठूला व्यवसायीहरुले भने आफ्नो पहुँचको आधारमा जस्तोसुकै अवस्थामा पनि बैंकबाट ऋण पाउने गरेका छन् । तर, साना व्यवसायीले भने आफ्नो ज्यानै फाल्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया

One thought on “ठूला व्यवसायीहरुको चेतावनी- बैंकले साह्रै दुःख दियो, अब पीपीपी मोडलबाट लगानी विस्तार गर्छौं

  1. क्षमताभन्दा बढी, पाईयो भनेर त्यसै पनि पैसा लिने तिमीहरू । अनि तिर्ने बेलामा बैंकलाई दोष ? तिमीहरूलाई बैंकले अब लोन दिनै हुँदैन । सर्वसाधारणले लोन नपाएको तिमीहरूले कब्जा गरेर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *