उखु किसानका पीडा : सरकार समयमै मूल्य तोक्दैन, उद्योगी भुक्तानी दिँदैन – Nepal Press

उखु किसानका पीडा : सरकार समयमै मूल्य तोक्दैन, उद्योगी भुक्तानी दिँदैन

रुपन्देही । कपिलवस्तु र पश्चिम नवलपरासीका उखु किसानका समस्या सधैं दोहोरिरहेका छन् । एकातिर सरकारले उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा समयमै बेच्न पाएका छैनन् भने उत्पादन भएर बेचेको उखुको भुक्तानी पाउन पनि उस्तै हैरानी छ ।

पहिले स्थानीय क्षेत्रमा खुलेका चिनी मिल अहिले अन्यत्रै सरेपछि कपिलवस्तुका किसानहरुलाई उखु बेच्नै समस्या हो । चिनी मिललाई बेच्न नसकिएको उखु सस्तो मूल्यमा सख्खर उद्योगलाई बेच्न किसानहरु बाध्य छन् ।

पाँच वर्ष अगाडि यहाँको महालक्ष्मी सुगर मिल सर्लाही सरेको थियो । त्यसयता यहाँका किसानलाई उखु बेच्न समस्या हुँदै आएको छ । सुगर मिल नहुँदाको फाइदा यहाँका उखु क्रसर (सख्खर) उद्योगले लिन थालेका छन् । सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि किसानहरुले सरोकारवाला गुहारेका छन् ।

कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सरकारले समयमै उखुको मूल्य तोक्न नसकेको र सख्खर उद्योगले मनपरी मूल्य लिइरहेको गुनासो गर्छन् । जिल्लामा रहेका ७५ वटा सख्खर उद्योगले मनलाग्दी उखुको मूल्य दिएको चौधरीको भनाइ छ ।

‘उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान चिनी मिल विस्थापित भएपछि समस्यामा परेका छन्’, उनले भने, ‘किसानको गुनासो सुन्ने निकाय कहाँ छ ? सुगर मिल नहुनु र सख्खर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुनुपर्ने अवस्था भएको छ ।’

सरकारलाई उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ तोक्न माग गरेको र त्यो मागको सुनुवाइ अहिलेसम्म नभएको अध्यक्ष चौधरीको दुःखेसो छ । उनले भने, ‘उखुको मूल्य निर्धारण गर्न कृषि मन्त्रालय पुगेका थियौं, सरकारले यो विषयमा कुनै निर्णय दिएन ।’

अहिले किसान ३५० देखि ४५० रुपैयाँसम्ममा उखु बेच्न बाध्य छन् । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सख्खर उद्योगले प्रतिक्विन्टल ४९० रुपैयाँमा उखु खरिद गरिरहेको छ । अरु बजारको समस्या भएकाले केही किसानले सख्खर उद्योगमै भेली बनाउन उखु बेचेका छन् । कतिपयले आफ्नै सख्खर उद्योग खोलेर भेली बनाउन थालेका छन् ।

सरकारले समयमै मूल्य नतोक्दा उखु बेच्न समस्या हुँदै आएको किसान रामप्रकाश चौधरी बताउँछन् । ‘पहिला चिनी मिल थियो र बेच्न सजिलो थियो, अहिले उखु बिक्री नै हुँदैन कि भन्ने डरले जति पैसा दिए पनि सख्खर मिललाई दिन बाध्य छौं’ उनले भने ।

जिल्लाको पश्चिम-दक्षिण क्षेत्रमा सुक्खा क्षेत्र रहेको र अधिकांश किसानले व्यवसायिक उखु खेती गर्दै आएका छन् । जिल्लाको कृष्णनगर, महाराजगञ्ज र शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकामा व्यवसायिक उखु खेती गरिन्छ ।

करोडौं रुपैयाँको कारोबार गर्ने सख्खर उद्योग स्थानीय तहमा दर्ता छैनन् । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका सख्खर उद्योग स्थानीय तहको कार्यालयमा दर्ता नभएको पाइएको हो ।

आफ्नो क्षेत्रभित्र रहेका उद्योगको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको भए पनि शिवराज नगरपालिकालाई आफ्नो क्षेत्रमा कति सख्खर उद्योग छ भन्ने जानकारीसमेत छैन ।

विजयनगर गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबै उद्योगलाई दर्ताको लागि पत्र पठाइसकेको अध्यक्ष गोपाल थापाले बताए ।

पश्चिम नवलपरासीमा उखु नगदेवालीको रूपमा रहेको छ । यहाँका अधिकांश किसानको आम्दानीको स्रोत नै उखु खेती हो । तर, बेचेको उखुको भुक्तानी पाउन समस्या भएको धेरै किसानको गुनासो छ ।

दक्षिण क्षेत्रका अधिकांश खेतीयोग्य जमिनमा उखुबाहेक अन्य बाली त्यति राम्रो नहुने भएकाले किसानले उखु खेतीलाई नै निरन्तरता दिँदै आएका छन् । गत वर्ष पनि किसानहरूले भुक्तानीका लागि जिल्लामा मात्र आन्दोलन गरेनन्, काठमाडौं नै पुगेर आन्दोलन गरे । त्यसपछि भने लामो समयदेखि रोकिएको भुक्तानी पाउन थालेको किसानहरु बताउँछन् ।

उद्योगीहरु पनि जब्बर भएका छन् । आन्दोलन नगरेसम्म किसानलाई भुक्तानी दिन उनीहरु तयार हुँदैनन् । जिल्लामा ३ वटा ठूला चिनी उद्योग छन् । यहाँ बाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योगले किसानको उखु खरिद गर्दै आएका छन् ।

इन्दिरा चिनी उद्योगले किसानलाई १ करोड ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो तथ्यांक गत वर्ष २०७८ पुस २० गतेसम्मको हो । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाग्मती चिनी उद्योगले सबै रकम भुक्तानी गरेको छ । सुनवलले ४ लाख २० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

उद्योगले त्यसपछि पनि भुक्तानी गरेकाले यथार्थ रकम संकलन हुन नसकेको प्रशासनले जनाएको छ । इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले ३०–३५ लाख रुपैयाँमात्र किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताएका छन् । उधारो रकम अहिले पनि पुर्जी हेरेर वितरण गरिरहेको अग्रवालको भनाइ छ । भुक्तानीकै कारण ४ वर्षदेखि इन्दिरा चिनी उद्योग बन्द थियो, उद्योग यस वर्षदेखि सञ्चालनमा आएको छ ।

भुक्तानी पाएपछि यस वर्ष किसानले उखु खेतीको क्षेत्रफल बढाएका छन् । भुक्तानी पाएका कारण र केही उद्योगले बीउलगायत प्राविधिक सहयोग उपलब्ध गराएका कारण किसानहरु उत्साहित भएका हुन् । यसअघि भुक्तानीकै कारण किसानले उखु खेतीमा संकुचन ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *