अघिल्लो सरकारले वैदेशिक सम्बन्धलाई भताभुंग बनायो, अब सच्याउनुपर्छः ओली (भिडिओ) – Nepal Press

अघिल्लो सरकारले वैदेशिक सम्बन्धलाई भताभुंग बनायो, अब सच्याउनुपर्छः ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा उच्चस्तरीय संयन्त्रका संयोजक केपी शर्मा ओलीले देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग बनेको आरोप लगाएका छन् । नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याएर छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्नेमा उनले जोड दिए ।

एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने उल्लेख गरे ।

‘हामीले छिमेकसँग कार्ड खेल्ने होइन, बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्ने होइन । सबैसँग सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्छ,’ उनले भने ।

छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने ओलीको भनाइ छ । नेपाल छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्नुपर्नेमा उनले जोड दिए ।

‘हामी हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं । कसैको पनि मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं,’ उनले भने, ‘कुनै पनि हिसाबले हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानको आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्नेछौं । हाम्रो परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने आधार यिनै हुन् ।’

ओलीले विगत सरकारको समयमा छिमेक सम्बन्ध असन्तुलित, विवादास्पद र बेढंगी रुपमा चलेको बताए । सरकारले देशभित्र तनाव बढाउने र बाह्य शक्तिसँग साँठगाँठ एवं दलाली गरेर राष्ट्रिय हित कमजोर बनाउने काम गरेको उनको आरोप छ ।

‘कसैका विरुद्धमा काम गर्ने र कसैका निम्ति काम गर्ने गैरजिम्मेवार प्रवृत्ति देखिए । हाम्रो भू-राजनीतिमा यस्तो कुरा बडो खतरनाक हुन्छ,’ ओलीले भने, ‘अब नयाँ सरकार बनेपछि यसलाई सच्याएर जानुपर्छ ।’

प्रतिक्रिया

One thought on “अघिल्लो सरकारले वैदेशिक सम्बन्धलाई भताभुंग बनायो, अब सच्याउनुपर्छः ओली (भिडिओ)

  1. परराष्ट्र सम्वन्ध बिगार्ने वामपन्थी सरकार हो । बेला न कुबेला मादुरोको शैतानी सत्ता भएको भेनेजुएलालाइ समर्थन गरेर बेइज्जति कमाएको हैन ? एमसिसिमा चीनलाइ मुछेर उसको समेत बदनामी गराएको हैन ?? दुइटा बाँदर लोट्ने डाँडाको बहाना बनाएर नेपालको लाइफ लाइन भारतसँग दुश्मनी बढाएको हैन ??? यस्ता भाङ भुसुडीले देशको परराष्ट्र सम्वन्ध सुधार्ने ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर