वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन आज : ४ वटा प्यानल मैदानमा – Nepal Press

वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन आज : ४ वटा प्यानल मैदानमा

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं अधिवेशन आजबाट सुरू हुँदेछ । अधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दैछन् ।

संघको आगामी नेतृत्वका लागि ४ वटा प्यानल बनाएर अध्यक्षदेखि सदस्यसम्म गरी ५६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यक्षको उम्मेदवारी दिएका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनाल, संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिं गुरुङ, र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले पनि अध्यक्षको रेसमा छन् ।

एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट राजेन्द्र भण्डारी नेतृत्वको व्यवसायिक समूह चुनावी मैदानमा उत्रिएको छ । यस प्यानलमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १० जना सदस्य गरी १७ जनाको टीम बनेर चुनाव मैदानमा गएको छ । सो टीमले विभिन्न २२ बुँदे चुनावी एजेण्डासहित सो समूह मैदानमा उत्रिएको हो ।

नेपाली कांग्रेस समर्थित मेनपावर व्यवसायीको छाता संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको कुमुद खनालको प्यानलबाट प्रथम उपाध्यक्षमा किशोरकुमार केसी, द्वितीय उपाध्यक्षमा अख्तर हुसेन, तृतीय उपाध्यक्षमा सञ्जय पनेरु, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा हिमा गुरुङले उम्मेदवारी दिएका छन् । भने, ८ जनाले सो टीमबाट सदस्यमा उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट व्यवसायी पनि संयुक्त प्यानल घोषणा गरेर चुनावमा गएका छन् ।

डा. ईश्वर जिसी नेतृत्वको यो टीममा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितीय उपाध्यक्षमा बाबुराम खड्का र तृतीय उपाध्यक्षमा अनिल बोगटीको मनोनयन छ । महासचिवमा मधुकर रिजाल, सचिवमा टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा केदारनाथ अधिकारीले उम्मेदवारी दिएका छन् । सदस्यमा १० जना रेसमा छन् ।

संयुक्त लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको तर्फबाट भुवनसिंह गुरुङको अध्यक्षको उम्मेदवारीसहित प्यानल घोषणा भएको छ । एमालेबाहेकका विभिन्न दलमा आवद्ध सदस्यहरू मिलेर छुट्टै प्यानल खडा गरेका हुन् ।

सो टीमबाट अध्यक्षको उम्मेदवार भुवनसिंह गुरुङ, द्वितीय उपाध्यक्षमा महमद जबार दिन मियाँ, तृतीय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकी र सदस्यमा अन्य २ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *