सभामुख निर्वाचनमा दुई गठबन्धनको भिडन्त, देवराजलाई सुविधाजनक बहुमत – Nepal Press

सभामुख निर्वाचनमा दुई गठबन्धनको भिडन्त, देवराजलाई सुविधाजनक बहुमत

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको लागि सत्ता पक्ष र विपक्ष गठबन्धनबीच भिडन्त हुने भएको छ । सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाएपछि विपक्षी दलहरुले पनि मोर्चाबन्दी गरेका हुन् ।

सरकार बाहिर रहेका दलहरुले कांग्रेसकी ईश्वरी न्यौपानेलाई अघि सारेको हो । सत्ता गठबन्धनका उम्मेदवार घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छन् ।

कांग्रेसकी उम्मेदवार न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।

सत्ता गठबन्धनविरुद्ध सत्ता गठबन्धन बाहिरका अरु दलहरुलाई समेट्ने प्रयास भइरहेको नेकपा एसका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘चुनाव भोलि हो । आज रातभर पनि कुराकानी हुन्छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्ष भूमिका निर्वाह गर्नेहरुले जनताको आवाजलाई बलियो बनाउन पनि एकमत बनाएर जाने कोसिस हुन्छ ।’

त्यही विषयमा कांग्रेस सभापति देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भइरहेको छ ।

तर, सभामुखको उम्मेदवारी दिएका दुवैले आफैंले जित्ने दाबी गरेका छन् । उम्मेदवारीपछि घिमिरेले भने, ‘मेरो जीत सुनिश्चित छ । म विगतबाट शिक्षा लिँदै संसद प्रभावकारी ढंगबाट अगाडि बढाउन प्रतिबद्ध छु ।’

उनले मात्रै नभएर विपक्षी कित्ताबाट उम्मेदवारी दिएकी न्यौपानेले पनि आफूले जित्ने दाबी गरिन् ।

उम्मेदवारी दर्तापछि उनले भनिन्, ‘निर्वाचन भनेपछि एउटा हार्ने अर्को जित्ने पक्कै हुन्छ । निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । म जित्छु भनेर सुनिश्चितका साथ लाग्छु ।’

दुवैले जित्ने दाबी गरे पनि २७५ जना सांसद रहेको संसदमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरे नै अगाडि छन् । घिमिरेको पक्षमा एमालेको ७९, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४ मत छ ।

उनलाई जीत सुनिश्चित गर्न १३८ मत आवश्यक पर्छ । तर, एमाले, माओवादी, रास्वपा र राप्रपाको जोड्दा नै १४४ मत हुन्छ ।

यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ । कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ सीट छ । कांग्रेसका एक सांसद निलम्बित छन् । तीन दलका १०२ सांसदमात्रै हुन्छन् ।

तर, मन्त्रिपरिषद् विस्तारमा भागबन्डामा असन्तुष्टि जनाएर सत्ता बाहिर बसेको जसपाले कसलाई समर्थन गर्छ भन्ने टुंगो छैन । देउवासँग १२ सीट रहेको जसपा अध्यक्ष उपेन्द्र यादव निरन्तर संवादमा रहेकाले विपक्षी गठबन्धनको ११४ सांसद हुनसक्छ ।

यीबाहेक ६ सीट भएको जनमत पार्टी, ४ सीट भएको नागरिक उम्मुक्ति पार्टीले पनि सरकारलाई समर्थन गरेका छन् । उनीहरुले घिमिरेलाई नै मत दिनसक्छ । तर, नागरिक उन्मुक्ति आफ्नो एजेण्डालाई सर्त राखेर सरकारमा गएको छैन।

प्रधानमन्त्री नियुक्त हुने वेलामा प्रचण्डलाई १६९ सांसदले समर्थन गरेका थिए । तर, अहिले साना दलको असन्तुष्टिको कारणले त्यही मत कायम नहुन सक्ने आँकलन गरिएको छ ।

यसबाहेक स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहलगायतले पनि घिमिरेलाई सहयोग गर्नसक्छन् । १-१ जना सांसद रहेको राष्ट्रिय जनमोर्चा र नेमकिपा अहिलेसम्म कतै खुलेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर