मोरङ ४ बाट लगातार चुनाव जितेका मोदी पहिलो पटक बने मन्त्री – Nepal Press

मोरङ ४ बाट लगातार चुनाव जितेका मोदी पहिलो पटक बने मन्त्री

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसाभामा विजयी अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका मोदी पहिलो पटक मन्त्री भएका हुन् ।

मोरङको बुढीगङ्गा गाउँपालिकामा सामान्य परिवारमा जन्मिएका मोदी यसअघि २०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद् भएका थिए ।

मोदी संविधानसभा सदस्य बन्दासमेत उनकी आमा वालोदेवी मोदी भने घर अगाडिको चोकमा आलु चप र प्याजी बेच्ने गर्थिन् । उनकी दिदी शान्ति मोदीसमेत राजनीति र सामाजिक अभियानमा सक्रिय छिन् ।

अमनलाल वाम गठबन्धनबाट उम्मेदवार बन्दै २०७४ मा नेपाली कांग्रेसका महेश आचार्यलाई हराएर प्रतिनिधिसभा सदस्य भएका थिए । यस पटक भने एमालेका विनोद ढकाललाई हराएर प्रतिनिधिसभा सदस्य भएका हुन् ।

बाबु स्व. पवनलाल र आमा वालोदेवी मोदीका सुपुत्र अमनलाल विसं २०४२ असोज ५ गते जन्मेका हुन् । उनका पत्नी रितेशकुमारी लेखी र दुई छोरा छन् ।

मोरङकै स्थानीय मोदीको राजनीतिक जीवन २०५६ देखि सुरु भएको हो । उनी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बनेका छन् ।

मोदी अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने । राजनीतिक रूपमा सक्रिय रहँदा मोदीले जेल जीवन पनि बिताएका छन् । २०६० सालमा पक्राउ परेका उनले २ वर्ष ३ महिना जेल जीवन बिताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर