शक्तिकेन्द्रमै कायम रहने प्रचण्डको रणनीति- नेकपा एसले गर्ला त माओवादीसँग एकता ? – Nepal Press

शक्तिकेन्द्रमै कायम रहने प्रचण्डको रणनीति- नेकपा एसले गर्ला त माओवादीसँग एकता ?

काठमाडौं । ३२ सीट जितेर प्रतिनिधिसभाको तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । कांग्रेस नेतृत्वको गठबन्धनबाट चुनाव लडेका प्रचण्ड एमाले कित्ताबाट प्रधानमन्त्री बने ।

प्रतिनिधिसभाको तेस्रो तर निर्णायक शक्तिको रुपमा प्रचण्डले आफूलाई सधैं शक्तिकेन्द्रमा राखिरहेका छन् । मंसिर ४ को निर्वाचनबाट तेस्रो दल बने पनि नयाँ दलको उदयले पहिलेकै झैं निर्णायक भने बन्न सकेनन् ।

प्रतिनिधिसभामा ८९ सीट जितेको कांग्रेसलाई संघदेखि प्रदेशसम्म सत्ताबाहिर पुर्‍याएका प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले बृहत वामपन्थी ध्रुवीकरणको पहल थालेको छ ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि २०६४ सालको निर्वाचनमा पहिलो दल बनेको माओवादीको पछिल्लो नजिता खस्किँदै गएपछि वाम एकताको प्रयास थालेको हो ।

तर, कतिपय पार्टी विभाजनको कारण कमजोर बन्दै गएको र खस्कँदो जनमतलाई केन्द्रित गरेर प्रचण्डले आफूलाई शक्तिकेन्द्रमै राख्न वाम एकताको बाजा बजाएको टिप्पणी गर्छन् ।

माओवादीले वाम एकताको पहल गर्न उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा ५ सदस्यीय कार्यदलसमेत बनाएर काम थालिसकेको छ ।

मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि नै समाजवादी केन्द्र बनाउने प्रयास विफल भएपछि अहिले फेरि गृहकार्य अघि बढाइएको हो ।

माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग छलफल अगाडि बढाइरहेको छ ।

माओवादी अध्यक्ष प्रचण्डका जनयुद्धका सारथि बाबुराम नेतृत्वको नेसपासँगको एकता अन्तिम चरणमा पुगिसकेको छ । नेसपाले मंसिर ४ को निर्वाचनमै माओवादीको चुनाव चिन्हबाट लडेको भएकाले पार्टी एकताको लागि प्रचण्ड-बाबुराम दुवै तम्तयार छन् ।

यस्तै २०७८ भदौमा नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि माओवादीसँग एकता गर्न सकारात्मक छ । नेकपा विवादको वेलामा ओलीविरुद्धको मोर्चाबन्दीमा उभिएका प्रचण्ड-माधव बाध्यात्मक अवस्थाले मात्रै अलग भएका हुन् ।

त्यसो त चुनावअघि नै नेकपा एसले माओवादीसँग एकताको लागि वार्ता गर्न कार्यदल गठन गरेको थियो । माओवादी अहिले एमालेसँगको सत्ता सहकार्यमा भए पनि नेकपा एस, नेसपासँग पार्टी एकतालाई प्राथमिकता राखेको माओवादी नेताको भनाइ छ ।

ती नेताले भने, ‘हामी सबै वामपन्थी एकताको पक्षमा छौं । अहिले एमालेसँग सहकार्यमा छौं । तर, यसअघि पनि एकता असफल भएकाले अहिले गम्भीर ढंगबाट सोचविचार गरेरमात्रै निर्णय गर्छौं । अहिलेको हाम्रो प्राथमिकता भनेको नेकपा एस र नेसपासँग नै हो ।’

उनले उपेन्द्र यादव पनि वामपन्थी धारकै भएकाले अहिले जसपासँग पनि कुराकानी भइरहेको ती नेताले बताए । माधव नेपालसँग बाध्यात्मक अवस्थामा मात्रै अलग भएकाले अहिले फेरि एकै ठाउँमा उभिने प्रयास गरिएको उनले बताए ।

अहिले प्रचण्ड एमाले नेतृत्वको सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बनेका छन् । नेकपा एस विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने पक्षमा छ ।

प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई पनि सरकारमा ल्याउन चाहेका छन् । ओलीकै आडभरोसामा प्रचण्ड प्रधानमन्त्री बनेकाले अध्यक्ष नेपाल सरकारमा जान चाहेका छैनन् । तर, माओवादीसँगको पार्टी एकतामा भने लचक छन् ।

त्यसो त वाम एकताको कार्यदल गठन गरे पनि अहिलेसम्म कुनै दलसँग औचापरिक छलफल नभएको माओवादीका उपमहासचिव तथा कार्यदल सदस्य गिरिराजमणि पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘कार्यदलले अहिलेसम्म औपचारिक छलफल कसैसँग गरेको छैन । अहिले सबै सरकार गठनमै केन्द्रित छौं । केही नेताहरुसँग अनौपचारिक छलफल हुनु स्वाभाविक नै हो ।’

उनले अहिलेको आवश्यकता नै वामपन्थी एकता भएकाले आफूहरुले पहल गरेको जिकिर गरे । एमालेसँग अहिले सत्ता सहकार्यमात्रै भएको उल्लेख गर्दै नेता पोखरेलले एकताबारे सोचिनसकेको बताए ।

यस्तै नेकपा एसको एकता कार्यदलका सदस्य प्रकाश ज्वालाले विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल भइरहेको बताए ।

उनले भने, ‘कार्यदलले आफ्नो काम गरिरहेको छ । घनश्यामजीलाई पनि कार्यदलकै पहलमा पार्टी प्रवेश गराएका हौं ।’

नेता ज्वालाले कुनै पार्टी केन्द्रित नभएर विचार मिल्ने दलका नेताहरुसँग अनौपचारिक रुपमा छलफल गरिरहेको बताए ।

उनले थपे, ‘हामी जसपाको कार्यदलसँग दुई पटक वार्तामा बस्यौं । शीर्ष नेताहरुबीच पनि छलफल भइरहेको छ । सकारात्मक रुपमै कुराकानी अगाडि बढेकाले चाँडै निष्कर्ष निकाल्नुपर्नेमा एकमत छौं ।’

माओवादीको वार्ता समितिबाट छलफलको लागि प्रस्ताव आए पनि अहिलेसम्म नबसेको उनको भनाइ छ ।

‘उहाँहरुले प्रस्ताव गर्नुभएको छ । हामी पनि आन्तरिक छलफलमा छौं । अब पहिला पनि हामीले एकताको प्रयास गरेका थियौं । त्यो वेलामा सम्भव भएन’, नेता ज्वालाले भने, ‘अहिलेसम्म एकपटक पनि औपचारिक रुपमा वार्ता नभएकाले माओवादीसँगको एकताबारे अहिले हुन्छ भन्ने अवस्था छैन ।’

उनले जसपा, नेकपा संयुक्त, माओवादीलगायतका दलहरुसँग कुराकानी भए पनि एमालेसँग तत्काल नहुने प्रस्ट्याए ।

जसपा र नेकपा एसको बेग्लै प्रयास

माओवादीले जस्तै विचार मिल्नेसँग एकता र मोर्चाबन्दीका लागि जसपा र नेकपा एसले पनि कार्यदल बनाएका छन् । गएको बिहीबार एकताको लागि गठित कार्यदलबीच पहिलो चरणको औपचारिक वार्ता भइसकेको छ ।

जसपाको वार्ता समितिमा संयोजक राजेन्द्र श्रेष्ठ र सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् । नेकपा एसको कार्यदलमा महासचिव बेदुराम भुसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

दुई दलबीच मूल रुपमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई निकै कसरत गर्नुपर्ने कतिपयले टिप्पणी गर्ने गरेका छन् ।

जसपा अध्यक्ष यादवले समाजवादी एकतामा जोड दिए पनि नेकपा एसले वाम ध्रुवीकरणलाई प्राथमिकता दिएको छ । त्यसैले दुई दलबीचको एकताको मिलनविन्दु भेट्न मुस्किल पर्ने आँकलन छ ।

तर, आफूहरुले विचार मिल्नेसँग सम्भव भए एकता गर्ने र नभए मोर्चाबन्दीको विषयमा छलफल चलाएको जसपा प्रवक्ता मनिष सुमन बताउँछन् ।

उनले भने, ‘पार्टीले कार्यदल गठन गरे पनि अनौपचारिक रुपमा पनि नेताहरुसँग विभिन्न ढंगबाट कुराकानी भइसकेको छ । हामी सम्भव भएसम्म एकता, नभए सहकार्यबारे पनि छलफल गरिरहेका छौं ।’

प्रवक्ता सुमनले नेकपा एसमात्रै नभएर आफ्नो पार्टीको विचार मिल्ने दल र व्यक्तिहरुसँग पनि छलफल गर्न कार्यदल बनाएको जिकिर गरे ।

विप्लवसँग पनि वार्ता

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वामपन्थी एकता गर्नुअघि पूर्वमाओवादीहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । जनयुद्धका पूर्वसहकर्मी बाबुराम एकताको पक्षमा देखिएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पनि समावेश गर्न चाहेका छन् ।

उनीबाहेक मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतका नेताहरुलाई फर्काउन नसके पनि विप्लवलाई पार्टीमा ल्याउनसक्ने प्रचण्डको बुझाइ छ ।

वैद्यले अझै नेकपा क्रान्तिकारी माओवादीको नेतृत्व गरिरहे पनि बादलसहित केही नेताहरु एमालेमा मिसिसकेका छन् ।

प्रचण्डको निर्देशनपछि माओवादीका उपाध्यक्ष तथा कार्यदल संयोजक महरा विप्लवसहितका शीर्ष नेताहरु भेट्न कपिलवस्तु पुगेका थिए ।

नेकपा केन्द्रीय कार्यालय शिवगढी पुगेर महराले विप्लव, प्रकाण्डसहितका शीर्ष नेताहरुसँग भेट गरेका थिए । नेकपा माओवादी केन्द्रमा एकताको बहस चलिरहेको वेला नेता महराको यो भेटलाई विशेष अर्थमा लिइएको छ ।

महरामार्फत् विप्लवलाई पार्टीमा फर्काउन प्रचण्डले पहल थाले पनि सकारात्मक जवाफ पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर