नेतासँग फोटो खिच्ने होइन स्ववियु चुनाव जिताउने अनेरास्ववियु चाहियो- शंकर पोखरेल – Nepal Press

नेतासँग फोटो खिच्ने होइन स्ववियु चुनाव जिताउने अनेरास्ववियु चाहियो- शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न स्ववियु निर्वाचनमा ल्याउने नतिजाले नेताहरुको मुल्यांकन हुने भन्दै चुनावमा खटिन निर्देशन दिएका छन् ।

स्ववियु निर्वाचनका सन्दर्भमा अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका पूर्व अध्यक्ष समेत रहेका पोखरेलले नेताका अघि पछि लागेर फोटो खिचाउने व्यक्ति अखिलको नेता हुन नसक्ने बताए ।

उनले भने–तपाईहरुको परीक्षा अब हुँदैछ । नेताका अघिपछि फोटो खिचाउने र पोस्ट गर्दै हिड्ने अखिलले स्ववियु चुनावमा कसरी खट्छ रु त्यसको मुल्यांकन हुनेछ । उसले संगठनलाई जिताउन कति भूमिका खेल्छ त्यो अखिल हो ।

पोखरेलले अनेरास्ववियु भनेको विद्यार्थीबाट निर्वाचित संस्थाहरुको प्रतिनिधि संगठन भन्दै स्ववियु निर्वाचनमा सबैको भूमिकाको मुल्यांकन हुने बताए । त्रिविले चैत ४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ ।

पोखरेलले अचेल एमाले र एमालेका भातृ संगठनहरुमा ३६४ दिन एमाले हुने र चुनावको दिन विचलित बन्ने प्रवृति देखिएको बताए । त्यस्ता कार्यकर्ता एमालेलाई नचाहिएको भन्दै पोखरेलले जो जहाँ जिम्मेवारीमा छ उसको भूमिकाको मुल्यांकन चुनावमा हुने भएकाले अखिलको मुल्यांकन स्ववियु चुनावमा हुने बताए ।

कार्यक्रममा अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेलले आसन्न स्ववियु निर्वाचनमा अखिलको जितका लागि अनुशासित विद्यार्थी र पारदर्शी ढंगले न्यायोचित रुपमा उम्मेदवार उठाउने कुरा महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर