संचालकको मनोमानीविरुद्ध सहकारी विभागमा उजुरी – Nepal Press

संचालकको मनोमानीविरुद्ध सहकारी विभागमा उजुरी

रुपन्देही । सहकारी संचालक समितिको मनोमानीविरुद्ध सहकारीका सदस्यले सहकारी विभागमा उजुरी गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २स्थित तिलोत्तमा बहुमुखी सहकारी संस्थामा सहकारी ऐन विपरीत भएको १० औं अधिवेशन अन्तर्गतको निर्वाचन पुनः गर्न तथा अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी विभागमा उजुरी परेको हो ।

सहकारीकै पूर्वसञ्चालक एवं शेयर सदस्य र्इश्वर पाण्डेले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५,प्रदेश सहकारी ऐन २०७५ र नियमावली २०७६ प्रतिकूल हुने गरी निर्वाचनमा सहभागी हुन पाउने अधिकार बञ्चित गरिएको भन्दै उक्त निर्वाचन बदर गरी पुनः अधिवेशन गराउन लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालय सहकारी विभागमा उजुरी दिएका हुन् ।

सहकारी ऐनअनुसार निर्वाचन प्रकृयामा चित्त नबुझे ३५ दिनभित्र उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । सहकारीको अधिवेशनबाट माधवलाल देवकोटा अध्यक्ष निर्वाचित भएका थिए । देवकोटा अहिले तेस्रोपटक अध्यक्ष भएका हुन् ।

उजुरीमा सहकारीका अध्यक्ष देवकोटाले कर्मचारीले जस्तै मासिकरुपमा २५ हजार रुपैयाँका दरले पारिश्रमिक लिँदै आएको भन्दै यो काम सहकारी ऐन विपरीत रहेको भन्दै हालसम्म बुझेको पारिश्रमिक र त्यसको ब्याजसमेत जोडेर सहकारी संस्थाको खातामा फिर्ता गर्न माग गरिएको छ ।

सहकारी ऐनअनुसार सञ्चालक समितिका पदाधिकारीले बठक भत्ता मात्रै लिन पाउँछन् । लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले पुनः अधिवेशन गर्न र अध्यक्षले लिंदै आएको पारिश्रमिक फिर्ता गर्न माग गर्दै परेको उजुरी दर्ता गरी आवश्यक अध्ययन थालेको बताए । सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीका विषयमा अदालतमा मुद्दा परेकाले अदालतले फैसलापछि अन्य प्रकृयामा जाने बताए ।

सहकारी सिद्धान्त विपरीत निर्वाचन प्रकृयामा निवर्तमान अध्यक्ष र सिस्टर सोसाइटीको सचिवालय अध्यक्ष स्वतः संचालक सदस्य हुने, सञ्चालक सदस्य हुन एक कार्यकाल उपसमिति सदस्य हुनुपर्नेजस्ता सहकारी ऐन विपरीत प्रावधान राखेर सञ्चालक समितिमा आउन चाहने शेयर सदस्यलाई रोक्ने नमिल्ने सहकारी अभियान्ताको भनाइ छ ।यसअघि यही विषयमा अदालतमा पनि मुद्दा परेको छ तर अहिलेसम्म छिनोफानो भएको छैन ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *