विश्व विजेता बनेबापत मेस्सीलाई सम्मान दिइएको खेलमा अनुपस्थित एमबाप्पे आज मैदान उत्रँदै – Nepal Press

विश्व विजेता बनेबापत मेस्सीलाई सम्मान दिइएको खेलमा अनुपस्थित एमबाप्पे आज मैदान उत्रँदै

काठमाडौं । कतारमा सम्पन्न विश्वकपको फाइनलमा भिडेयता अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे पहिलोपटक एकसाथ मैदान उत्रँदैछन् । फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)का लागि यी दुवै खेलाडी आइतबार लिग वानअन्तर्गत रेन्नेसविरुद्ध खेल्दैछन् ।

मेस्सी अघिल्लो खेलबाट पीएसजीमा फर्किएका थिए । मेस्सीलाई गार्ड अफ अनर दिइएको त्यस खेलमा एमबाप्पे भने रंगशालामै थिएनन् । एमबाप्पे बिदा मनाउन अमेरिका पुगेका थिए । तर, उनी विश्वकपलगत्तै पीएसजीमा फर्किएका थिए । एमबाप्पेले पीएसजीका लागि दुई खेलसमेत खेलेका थिए ।

एमबाप्पेले मेस्सी फर्किएको खेल गुमाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस खेलमा मेस्सीले एक गोल गरेका थिए । मेस्सी आउनु अघिल्लो खेलमा पीएसजी पराजित भएको थियो ।

गत विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा पराजित गरेर अर्जेन्टिना विश्व विजेता बनेको थियो। अर्जेन्टिना ३६ वर्षपछि विश्व विजेता बन्दा मेस्सीले विश्व च्याम्पियन सपना पनि पूरा गरेका थिए ।

यो सिजन लिग वानमा एमबाप्पे सर्वाधिक गोलकर्ता रहेका छन् । उनले १३ गोल गरेका छन् । मेस्सीले ८ गोल र १० असिस्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर