११ मन्त्रालय हुनेगरि यसरी टुङ्गिदै छ बागमती प्रदेशमा मन्त्रीहरुको भागवण्डा – Nepal Press

११ मन्त्रालय हुनेगरि यसरी टुङ्गिदै छ बागमती प्रदेशमा मन्त्रीहरुको भागवण्डा

हेटौँडा । गत पुस २६ गते बागमती प्रदेशका शालिकराम जम्कट्टेलले पदभार ग्रहण गर्दै मन्त्रालय घटाउन कार्यदल निर्माण गरिएको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

१४ मन्त्रालयसहित १८ मन्त्री तथा राज्यमन्त्री बनाएर ‘बदनाम’ कमाएका निवर्तनमान मुख्यमन्त्री राजेन्द्र पाण्डेको निर्णयलाई ‘करेक्सन’ गर्दै मन्त्रालयको संख्या ९ देखि ११ वटा मात्र बनाउने र राज्यमन्त्री नराख्ने उद्घोष गर्दै मुख्यमन्त्री जम्कट्टेलले निर्माण गरिएको कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएका थिए ।

सत्ता गठवन्धनको सबैभन्दा ठुलो दलको रुपमा रहेको नेकपा एमालेको पहिलो संसदीय दलको बैठकले पनि मन्त्रालय घटाउने विषयमा निर्णय नै गरेपछि अब सत्ता गठबन्धन बढीमा ११ वटा मन्त्रालय बनाउने गरि मन्त्रालय भागवण्डामा जुटेको छ ।

माघ ३ गते विश्वासको मत लिएपछि जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । तर सरकारमा पाँच दलको दाबीपछि जम्कट्टेलसहित गठबन्धनलाई यतिबेला मन्त्रालय घटाउने निर्णय भारी पर्ने देखिएको छ ।

यस्तो छ भागवण्डाको तयारी

बागमती प्रदेशमा सत्ता गठबन्धनमा ठुलो पार्टी भएपनि माओवादीलाई मुख्यमन्त्री छाडेको एमालेले बढीभन्दा बढी मन्त्रालय लिन चाहेको छ । एमालेको दाबी ५ मन्त्रालय छ । माओवादी पनि ४ मन्त्रालय चाहान्छ भने सत्ता गठबन्धनकै राप्रपाले पनि ३ मन्त्रालयको दाबी गरेको छ ।

तर सभामुख पाइसकेको राप्रपाले २ मन्त्रालयमा चित्त बुझाउने सम्भावना पनि छ । सरकार निर्माणमा समर्थन गरेको नेकपा एकिकृत समाजवादीले २ तथा हाम्रो नेपाली पार्टीले १ मन्त्रालयको दाबा गरेको छ । यसोगर्दा १४ मन्त्रालय हुन आउँछ । तर यो पटक बढीमा ११ मन्त्रालय मात्र बन्ने करिब निश्चित भएपछि सबै दल दाबीबाट केहिपछि हटनुपर्ने वाध्यता सृजना भएको छ ।

अब एमालेले ४ मन्त्रालय, माओवादीले ३, राप्रपा २ र एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले १–१ मन्त्रालयमा चित्त बुझाउनुपर्ने देखिएको छ । यहि बिषयमा करिब सहमति हुनेमा गठबन्धनका नेताहरु पनि विश्वस्त छन् ।

एमालेले आर्थिक मामिला मन्त्रालय लिइसकेको छ भने सरकारमा दोश्रो बरियतामा रहने निश्चित छ । राप्रपाले भौतिक पूर्वाधार मन्त्रालयमा दाबा गरेको छ । तर उक्त मन्त्रालयमा माओवादीको पनि दाबी रहेको कारण सहमति जुटेको छैन् । केहि मन्त्रालयहरु मर्ज गर्नुपर्ने भएको कारण पनि बाँकी दलहरु पर्ख र हेरको अवस्थामा रहेको छ ।

मुख्यमन्त्री जम्कट्टेल भन्छन्-भागवण्डा सहमतिमा हुन्छ

बागमतीका मुख्यमन्त्री जम्कट्टेल भने भागवण्डाको अन्तिम तयारी भइसकेको बताउँछन् । सहमतिको सरकार निर्माण भएको कारण मन्त्रालय भागवण्डा पनि सहज तथा सहमतिमानै हुने विश्वास उनले ब्यक्त गरे ।

सरकारलाई समर्थन गरेका दलहरुलाई मिलाएर लैजाने र माघ ३ पछि सरकार विस्तार गरेर काममा गइहाल्ने उनले बताए । आफूहरुले सुशासनलाई प्राथमिकता दिने भन्दै मुख्यमन्त्री जम्कट्टेलले जनताले अनुभुत गर्नेगरी बागमती प्रदेश सरकारले काम गर्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर