प्रचण्ड नेतृत्वको सरकारमा जान लोसपा पनि तयार, छलफलमा महन्थ – Nepal Press

प्रचण्ड नेतृत्वको सरकारमा जान लोसपा पनि तयार, छलफलमा महन्थ

शरतसिंह भण्डारी भन्छन्- विश्वासको मत दिएपछि सत्तापक्ष भइसक्यौं

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जान तयार भएको छ।

सरकारलाई विश्वासको मत दिएपछि आफूहरु पनि सत्तापक्षकै भएकाले सरकारमा जान तयार भएको लोसपाले बताएको छ ।

सरकारमा सहभागी हुने बिषयमा पार्टी अध्यक्ष अहिले छलफलमा रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले नेपाल प्रेसलाई बताए।

उनले भने, ‘हाम्रो पार्टीको कार्यकारिणी समितिको बैठकले सरकारलाई समर्थन गर्ने र सहभागी हुने निर्णय गर्ने अधिकार अध्यक्षज्युलाई नै दिएका थियौं। उहाँले भनेपछि विश्वासको मत दिएका हौं।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पनि आफूहरुलाई सरकारमा आउन प्रस्ताव आएको बताए।

उनले भने, ‘विश्वासको मत दिएपछि हामीलाई सरकारमा आउन प्रधानमन्त्रीज्युले पनि आग्रह गरिसक्नुभएको छ। अहिले अध्यक्षज्यु छलफलमा हुनुहुन्छ। सबै निर्णैय गर्ने अधिकार उहाँलाई नै दिइसकेका छौं।’

सरकारले ल्याएको नीति तथा कार्यक्रममा आफ्ना केही एजेण्डा समावेश भएपछि विश्वासको मत दिएको उनको भनाइ छ।

‘हामी सरकारमा जान तयार नै छौं। अध्यक्ष पनि सरकारात्मक हुनुहुन्छ। अब सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुन्छौं’ उनले भने।

लोसपाले सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्ड र ओलीले एक मन्त्रालय दिन तयार भएपनि उसले दुई मन्त्रालयको अडान राखेको छ। सत्ता साझेदार दलहरुमा भागबण्डा नमिल्दा अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

आज बिहान पनि सरकारलाई पूर्णता दिने र सभामुखको निर्वाचनको बिषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर