आर्थिक परिसूचकमा कर्णाली प्रदेश सबैभन्दा पछाडि, अन्यको अवस्था कस्तो ? – Nepal Press

आर्थिक परिसूचकमा कर्णाली प्रदेश सबैभन्दा पछाडि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । कर्णाली प्रदेशको आर्थिक परिसूचकहरु अन्य प्रदेशको तुलनामा निकै पछाडि रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको वार्षिक प्रतिवेदनले कर्णाली सबै हिसाबले पछि रहेको देखाएको हो ।

कृषि उपज अन्तर्गत पर्ने खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र सबैभन्दा धेरै प्रदेश नं. १ मा २५.१ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८ प्रतिशत रहेको छ । त्यसैगरी, कृषि बालीको उत्पादन सबैभन्दा धेरै मधेस प्रदेशमा २३.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ६.५ प्रतिशत रहेको छ ।

मधेस प्रदेशले कुल नेपालको सिञ्चित क्षेत्रफलमध्ये सबैभन्दा धेरै २४.७ प्रतिशत ओगटेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशले ३.६ प्रतिशत ओगटेको छ । अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा सबैभन्दा कम कृषि तथा पशुपन्छिजन्य उत्पादन भएको देखिन्छ । सबैभन्दा बढी दूध उत्पादन बागमती प्रदेशमा २१ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ४.४ प्रतिशत रहेको छ ।

यस्तै, माछामासु उत्पादनमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी ३१.४५ प्रतिशत रहेको छ भने सबैभन्दा कम हिस्सा सुदूरपश्चिम प्रदेशमा ४.९२ प्रतिशत रहेको छ । कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा निकै कम उद्योगहरु दर्ता भएको देखिन्छ । आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार यस प्रदेशमा ७९ वटा उद्योगहरु रहेका छन् ।

कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढि ५७.४ प्रतिशत भएतापनि यस क्षेत्रको विकासका संवाहकहरु, जस्तै यातायात, उद्योगधन्दा तथा घरजग्गा रजिष्ट्रेशनको संख्या यस प्रदेशमा सबैभन्दा कम रहेको छ ।

वित्तीय क्षेत्रका परिसूचकका आधारमा कर्णाली प्रदेश अन्य प्रदेशभन्दा निकै पछाडि देखिन्छ । यस प्रदेशमा सबैभन्दा कम ४५५ वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु रहेका छन् । त्यसैगरी यस प्रदेशमा तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा कम कर्जा उपयोग भएको देखिन्छ । कर्णाली प्रदेशल सहुलियतपूर्ण कर्जा, विपन्न वर्ग कर्जा र पुनरकर्जा क्रमशः १.४८ प्रतिशत, १.४६ प्रतिशत र २.४४ प्रतिशत उपयोग गरेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *