अर्थतन्त्रमा आशाकाे किरण, यी सूचकमा देखियाे सुधार – Nepal Press
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

अर्थतन्त्रमा आशाकाे किरण, यी सूचकमा देखियाे सुधार

काठमाडौं । देशको अर्थतन्त्र सकारात्मक दिशामा जान लागेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अधिकांश सूचक सुधारतर्फ अगाडि बढेको देखाएको हो ।

तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स बढेको छ । सोधान्तर स्थिति पनि बचतमा गएको छ । मूल्यवृद्धि घटेको तथ्यांकले देखाएको छ ।

विदेशी मुद्रा सञ्चिती १३ खर्ब नजिक

विदेशी मुद्रा सञ्चिती १३ खर्ब नजिक पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्थाको पाँच महिनामा विदेशी मुद्रा सञ्चिती बढेको देखिएको हो । कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ रहेको सञ्चिती बढेर मंसिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स

यस्तै विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा २३ प्रतिशत र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ । योसँगै पाँच महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत कात्तिकसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

सोधान्तर स्थिति दोब्बरले बचतमा

मंसिरसम्मा सोधान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँ ले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँले घाटामा थियो । कात्तिकमा शोधान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । गत महिनाभन्दा अहिले झण्डै दोब्बरले सोधान्तर स्थिति बचतमा गएको छ ।

चालू खाताको घाटामा उल्लेख्य कमी

मंसिरसम्म चालू खाता घाटा ३७ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो । कात्तिकमा चालू खाता ३५ अर्ब ४० करोड रुपैयाँले घाटामा थियो । कात्तिकको तुलनामा मंसिरमा चालू खाता घाटा केही बढेको छ ।

सरकारी खातामा पौने २ खर्ब मौज्दात

मंसिर मसान्तमा सरकारका विभिन्न खातामा १ खर्ब ८२ अर्ब ४३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात थियो । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड थियो । सरकारको नगद मौज्दात भने घटेको छ ।

०.७ प्रतिशतले घट्यो महँगी

राष्ट्र बैंकको प्रतिवेदनले मंसिरमा महँगी घटेको देखाएको छ । कात्तिकमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रा स्फीति (महँगी) ८.०८ प्रतिशत रहेकामा मंसिरमा घटेर ७.३८ प्रतिशतमा पुगेको छ ।

पूँजी बजारमा सुधार

१८ सयसम्म झरेको पूँजी बजार अहिले बढेर २१ सय विन्दुमाथि पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार पूँजी बजारको पूँजीरकरण ३१ खर्ब नाघेको छ ।

भर्खरै बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । बैंकहरुले १० प्रतिशतले ब्याजदर घटाएका छन । ब्यादर घट्दा लगानीको वातावरण बन्ने दाबी गरिएको छ ।

तरलता प्रवाह ३० खर्ब बढी

राष्ट्र बैंकले लगानीयोग्य रकमको व्यवस्थापन गर्न मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थालाई ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकबाट रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत २६ खर्ब ८२ अर्ब ७० करोड गरी कुल ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत राष्ट्र बैंकले २६ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो । गत वर्षभन्दा यसवर्ष बजारमा तरलता संकट भएको तथ्यांकले पुष्टि गरेको छ ।

राजस्वमा धक्का

सरकारको राजस्वमा भने धक्का लागेको छ । सरकारले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन । हालसम्म सरकारले ४ खर्ब १४ अर्ब राजस्व संकलन गरेको छ । जुन लक्ष्यको २९.५९ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *