सुदूरपश्चिममा आज पनि चुनिन सकेनन् सभामुख, बैठक नै अनिश्चित – Nepal Press

सुदूरपश्चिममा आज पनि चुनिन सकेनन् सभामुख, बैठक नै अनिश्चित

कैलाली । आज बिहान ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समय सम्मको लागि स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदा सम्मको लागि बैठक गरेको सूचना टाँस गरिसकेको छ ।

आज बिहान ११ बजे सभामुखको पुन निर्वाचन गर्ने गरि हिजो साँझको बैठक स्थगित गरिएको थियो । सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुबै उम्मेदवारले बहुमत पाउन सकेनन् ।

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि दोस्रो पटक भएका मतदानमा १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रो पटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले दुबै पटक २३ मत पाएका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।सुरुको दिनमा भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि के गर्ने भन्ने बारे प्रदेश सभा नियमावलीमा स्पष्ट नभएका कारण बैठक स्थगित भएको हो ।

कांग्रेसले पुन निर्वाचन प्रक्रियाको माग गरेको थियो । पहिलो दिन भएको निर्वाचनमा बहुमत नआएपछि फेरी सुरुबाटै निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने माग कांग्रेसले गरेको थियो सर्वदलीय बैठकमा सहभागी एक नेताले भने एमाले र माओवादीले त्यसको विरोध गरे । तर, सहमति भने जुट्न सकेन ।

प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ । माघ २ गते सम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ । यता पहिलो चरणमा कसैले बहुमत नपुराउँदा के गर्ने भन्ने बारे अनिश्चित हुँदा माघ २ भित्रै सभामुख र उपसभामुख चयन गर्न समेत सकस पर्ने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर