सन्दीप लामिछाने राष्ट्रिय टीममा फर्किने बाटो खुला, क्याप्टेनमा पुनर्वहाली गर्न वकिलको सुझाव – Nepal Press

सन्दीप लामिछाने राष्ट्रिय टीममा फर्किने बाटो खुला, क्याप्टेनमा पुनर्वहाली गर्न वकिलको सुझाव

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै उनका वकिल सरोजकुमार घिमिरेले क्याप्टेनमा पुनर्वहाली गर्न क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) लाई सुझाव दिएका छन् ।

खेलको विषयलाई लिएर उच्च अदालतको आदेशमा केही नभनेकोबारे पत्रकारको जिज्ञासामा घिमिरेले खेलको विषयमा आदेश गर्नुपर्ने कुनै आवश्यक नै नरहेको बताए ।

‘खेलको विषयमा आदेश गर्नुपर्ने आवश्यक नै छैन । सन्दीप थुनामा परेकाले सस्पेन्सन गरेको । थुना बाहिर भएकाले क्यानले क्याप्टेनसिप फिर्ता दिनुपर्ने हुन्छ । हेर्नुस् न क्रिकेट कुन अवस्थाबाट गुज्रिएको छ । सिरियसली नै क्यानले क्रिकेटलाई महत्वपूर्ण लिन्छ भने उनलाई क्याप्टेनको रूपमा लिनुपर्छ । दोषी त करार भइसकेको छैन ‘, घिमिरेले भने ।

सन्दीपलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरेसँगै पाटन उच्च अदालतले उनलाई सर्तसहित २० लाख धरौटीमा छाड्ने आदेश दिइसकेको छ ।

‘धरौटीको रकम परिवारले जम्मा गर्दै हुनुन्छ । उच्चबाट फायल जिल्लामा गएपछि पत्र लिएर आउने र स्वास्थ्य जाँच हुनेछ । तारेख लिने काम हुन्छ । साढे २ बजेसम्ममा उनी छुट्छन्’, घिमिरेले जानकारी दिए ।

अदालतको सर्तबारे सन्दीपलाई जानकारी गराएको पनि उनले बताए ।

‘महत्वपूर्ण सर्त छन् । सन्दीपले पालना गर्नुपर्ने हुन्छ । यस्तो अपराधमा यो युनिक आदेश हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *