सुदूरपश्चिम सभामा सांसदकै मत बदर भएपछि देखिएका रोचक दृश्य : सांसदको ‘जोक’ देखि सांसदलाई रोकसम्म – Nepal Press

सुदूरपश्चिम सभामा सांसदकै मत बदर भएपछि देखिएका रोचक दृश्य : सांसदको ‘जोक’ देखि सांसदलाई रोकसम्म

घण्टी नबनेपछि मर्यादापालकलाई हैरान

कैलाली । बिहीबार प्रदेश सभा बैठकमा जनाउ घण्टी बजेको करिब ४० मिनेटसम्म नेपाली कांग्रेसका १९ जना, नेकपा एकीकृत समाजवादीका ४ जना र स्वतन्त्र १ जना मात्रै सांसद भित्र थिए ।

सभामुख निर्वाचनको तालिका अनुसार १ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुनु पर्ने थियो । तर, त्यो समयसम्म सर्वदलीय बैठक नै सकिएको थिएन । प्रदेशसभामा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी भित्र देखिएको विवादले सभामुख निर्वाचनमा पनि असर पर्ने देखिएर माओवादी केन्द्र निर्वाचन नभइदिए हुन्थ्यो भन्ने मनसायमा देखिएको थियो । कांग्रेस भने तालिका अनुसार हुनु पर्नेमा जोड दिइरहेका थिए ।

यस्तै, विवादले करिब ३ बजे पनि बैठक सुरु भयो । तर, सबै सांसद आएनन् । आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण र सानो मन्त्रिमण्डल बिस्तारको कार्यक्रम पनि रहेको थियो । त्यसले पनि एमाले र माओवादीका नेताहरू दबाबमा थिए ।

संसद् बैठक सुरु भएपछि माओवादी, एमाले र नागरिक उन्मुक्तिका सांसदहरू क्रमिक रुपमा आए । यता कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा स्वतन्त्र एक सांसदको संख्या २४ थियो । ज्येष्ठ सदस्य पनि कांग्रेसकै शिवराज भट्ट भएपछि निर्वाचनमा सहभागी हुनेको संख्या २३ पुग्यो । उता सत्ता गठबन्धनबाट एमालेका १०, माओवादीका ११ र नागरिक उन्मुक्तिका ३ सांसद मात्रै प्रदेश सभा बैठकमा उपस्थित भए । अन्य चार सांसद आएनन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभा सदस्यमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ । नागरिक उन्मुक्तिका ४ सांसद उपस्थित नहुँदा धेरैले आज कसैको बहुमत नपुग्ने र भोली पुन मतदान हुने अपेक्षा गरेका थिए । धेरैले अनुमान गरेजस्तै आज सभामुख निर्वाचन भएपनि कसैको बहुमत भएन र भोलि ११ बजे पुन मतदान हुने भयो । आज नागरिक उन्मुक्तिका ४ सांसद नआएर बहुमत नपुगेको होइन सांसदलाई भोट हाल्न नआएर बहुमत नपुगेको हो ।

सांसदलाई नै भोट हाल्न आएन

सुदूरपश्चिम प्रदेशमा आज सत्ता गठबन्धनबाट २७ जना सांसद थिए । सत्ता गठबन्धनमा नरहेका २३ सांसद थिए । सभामुख निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र इतरबाट कांग्रेसका मानबहादुर रावल उम्मेदवार थिए ।

२७ जना सांसद आवश्यक पर्नेमा संसद्मा २७ नै सांसद हुँदा धेरैले भण्डारी निर्वाचित हुने अपेक्षा गरेका थिए । तर, दोस्रो चरणको मतदानमा सत्ता गठबन्धनका सांसदको एक मत बदर भयो । त्यसो हुँदा भण्डारीको मत २६ भयो । उनी निर्वाचित हुन सकेनन् ।

सांसदलाई प्रवेशमा रोक

प्रदेश सभा बैठक बसिरहेका बेला मुख्यमन्त्रीको शपथ ग्रहणको समय भएपछि केही समयका लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । त्यो बेला मुख्यमन्त्री राजेन्द्र रावलले शपथ ग्रहण गरे र अन्य दुई मन्त्रीलाई नियुक्त गरे । उनीहरुले पदभार समेत ग्रहण गरे ।

त्यसपछि प्रदेश सभामा फेरी बैठक सुरु भयो । अबेर सुरु भएको बैठकमा जनाउ घण्टी बजिसकेपछि पनि एमालेका प्रदेश सभा सदस्य चक्र मल्ल पुगेनन् । केही बेर सम्म उनी नआएपछि ढोका बन्द भयो । त्यस लगत्तै पुगेका उनलाई मर्यादा पालकले माथिको निर्देशन भन्दै भित्र पस्न दिएनन् । निर्वाचन समय सम्म मल्ल बाहिरै हुँदा मत समेत दिन पाएनन् ।

भित्र ‘जोक’ बाहिर झोका ‘झोंक’

यस अघिसम्मका बैठकका सत्ता पक्षको सिटमा बस्दै आएका नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी र प्रकाश रावललाई सत्ता पक्षका मानबहादुर धामीले रमाइलो जोक गरे । उनीहरु प्रदेश सभा बैठक सुरु नहुँदा सम्म हास मजाक गरिरहेका थिए ।

हिजो सम्म सत्ता पक्षमै रहेका उनीहरु अहिले फरक फरक स्थानमा पुगेको भन्दै फेरी कुनै दिन एकै ठाउँमा भई सक्ने बताइरहेका थिए । प्रदेश सभा भित्र रमाइलो गफ गरिरहेका मानबहादुर धामी र दीर्घ सोडारी प्रदेश सभा बाहिर पनि गफ गरिरहेका थिए । त्यति बेलानै कांग्रेसका मानबहादुर रावल मानबहादुर धामीसँग कड्किए ।

रावललाई सत्ता गठबन्धनका सांसदले बाहिर रहेका सांसदलाई भित्र ल्याउन लागेको गलत सूचना पुराइएको थियो । आफैं कांग्रेसबाट सभामुखको उम्मेदवार रहेका रावल धामीसँग झोक्किँदै आए । यता धामी पनि रावलसँग कड्किए । दुबै बिच केही बेर चर्को भनाभन भयो ।

उम्मेदवार नै नरहेकालाई समर्थन

सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादीका भीम भण्डारी मैदानमा थिए । नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले आफ्नो धारणा राख्ने बेलामा सभामुखमा पृथ्वी बहादुर सिंहलाई आफ्नो पार्टीले समर्थन गरेको जनाएका थिए । उम्मेदवार नै जरहेका सांसदलाई नागरिक उन्मुक्तिले समर्थन गरेको भन्दा धेरै अल्लमल्ल परे । त्यस लगत्तै उनले सरी भन्दै आफ्नो पार्टीको समर्थन भीम भण्डारीलाई रहेको जनाए ।

घण्टी नबनेपछि…

सभाध्यक्ष शिवराज भट्ट प्रदेश सभाका कर्मचारीहरूलाई दोस्रो चरणको मतदान सुरु हुन लागेको जानकारी बाहिर रहन सक्ने प्रदेश सभा सदस्यहरूको लागि जनाउ घण्टी बनाउन निर्देशन दिए । नजिकै रहेका मर्यादा पालक घण्टी बजाउन गए ।

तर, घण्टी बजेन । प्रदेश सभा सदस्यहरूले घण्टी नबजेको बताए । फेरि सभाध्यक्ष भट्टले निर्देशन जारी गरे अर्का कर्मचारीले प्रयास गर्दा पनि घण्टी बजेन त्यति भएपनि बजाउनकै लागि एक मर्यादा पालकले सानो हाकिमको टेबलमा राखिने सानो घण्टी ल्याएर बजाएर सुनाए । बाहिर सम्म सुनिनु पर्ने घण्टी प्रदेश सभा सदस्यहरुले नै नसुन्ने गरि बजिरहेको थियो ।

 

 

प्रतिक्रिया

One thought on “सुदूरपश्चिम सभामा सांसदकै मत बदर भएपछि देखिएका रोचक दृश्य : सांसदको ‘जोक’ देखि सांसदलाई रोकसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर